युटयुबमा सार्वजनिक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ मा अभिनित कलाकार केशु पुनमगर (केशरी) जनयुद्धकी वास्तविक कलाकार नभएको खुलेको छ। भिडियोमा एक पूर्वलडाकु देहव्यापारमा संलग्न भएको दृश्यप्रति विशेषत: माओवादी नेता कार्यकर्ताले यो गीतको भिडियोमा आपत्ति जनाएका छन् ।
प्रकाश सपुतले ‘भिडियोमा देखिएका पात्र काल्पनिक नभएको र सार्वजनिक भइरहेकै विषयवस्तु’ भएको बताएका छन् । भिडियोमा पूर्वछापामारको भूमिकामा छिन्, केशु पुनमगर (केशरी) । जसले गुजारा चलाउन देहव्यापार गरेको भिडियोमा देख्न सकिन्छ । रिलमा जस्तै ‘रियल’मा पनि उनी वास्तविक पूर्वलडाकु भएको भनेर समाचार प्रकाशित भएका थिए । उनी तत्कालीन विद्रोही शक्ति नेकपा माओवादीसमर्थित जनवादी कलाकार भने थिइनन् ।
म्युजिक भिडियो सार्वजनिक भएपछि आइतबार रवि लामिछानेको ग्यालेक्सी टेलिभिजन कार्यक्रममा उनको अन्तर्वार्ता प्रसारण भयो । कार्यक्रम प्रस्तोता लामिछानेले उनलाई माओवादीको पूर्वलडाकुकै रुपमा चिनाए ।
शुक्रबारको टेलिभिजन अन्तर्वार्तामा भने प्रस्तोताले उनलाई ‘सशस्त्र युद्धमा माओवादी पार्टीका तर्फबाट जनवादी कलाकार’ का रुपमा परिचय दिएका छन् । हरियो रंगमा रातो कलर भएको सर्टको दाहिनेपट्टी सेतो तारा बनाइएको पहिरनमा उनी अन्तर्वार्तामा उपस्थित भएकी थिइन् । अन्तर्वार्ता भर उनले रक्तिम परिवार र राष्ट्रिय जनमोर्चामा आबद्ध भएको कतै उल्लेख गरेकी छैनन् ।
उनले आफू माओवादी कलाकार भएको आसयको अन्तर्वार्ता दिएपछि रक्तिम परिवारका कलाकारहरु आश्चर्यमा परेका छन्। केशुको घर बागलुङको बरेङ गाउँपालिकास्थित सुखौरामा पर्छ ।
मसालको सांस्कृतिक समूह रक्तिम जीवन शर्माको नेतृत्वमा थियो । रक्तिमको सांस्कृतिक अभियान बागलुङदेखि गुल्मीसम्म पुग्थ्यो । त्यही क्रममा जोडिएकी थिइन् केशु । ०५७/०५८ मा उनी ७/८ वर्षकी थिइन् । त्यतिबेलैदेखि उनी रक्तिम परिवारसँग नजिक भइन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ