सशस्त्र प्रहरी बलको भावी महानिरीक्षक (आईजीपी) १५ दिनपहिले नै तय भएको छ। एआईजी बढुवाका लागि डीआईजी राजु अर्याललाई सिफारिस गरेसँगै आईजीपी उनै बन्ने पक्का भएको हो।
स्थानीय चुनावको पूर्वसन्ध्यामा नेपाल प्रहरीको २९ औं प्रहरी प्रमुखको जिम्मेवारी फेरिन लागेको छ । आईजीपीको दौडमा रहेका चारैजना प्रतिस्पर्धी २०४९ चैत ११ गते प्रहरी निरीक्षकको वैकल्पिकमा भर्ना भएका थिए । २०६२ जेठ २२ मा प्रहरी नायब उपरीक्षक (डीएसपी)मा पनि सँगै बढुवा भएका हुन् ।
सशस्त्र प्रहरीमा भावी आईजीपी तय भए पनि नेपाल प्रहरीमा भने अझै अन्योल छ। आईजीपीका लागि एउटै ब्याचका चार एआईजीहरु दाबेदार छन्। तीमध्ये पनि विश्वराज पोख्रेल डेढ वर्षपहिले नै एआईजी भएका हुन्। अरु दाबेदारभन्दा पहिल्यै एआईजी भएकाले उनको सम्भावना छ।
सहकुल थापा पनि गत असारमै एआईजी भएका थिए। उनी पनि आईजीपीका बलिया दाबेदार हुन्। थापालाई विश्व पोखरेलकै विकल्पमा आईजीपी बनाउन एक्लै एआईजीमा बढुवा गरिएको थियो। थापा आईजीपी भए कमाण्डो तालिम गरेको पहिलो आईजीपी समेत हुनेछन्। उनी पनि आईजीपीको लबिङमा छन्।
धीरज सिंहलाई आईजीपी बनाउने बलियो सम्भावना देखिन्छ। उनलाई एआईजीमा बढुवा गर्दा बालुवाटार र खुमलटार एकमत भएकाले पनि सिंह आईजीपीका बलिया दाबेदार हुन्। यसअघि तीनजना एआईजी बढुवा गर्दा सिंह दुवैको रोजाइमा परेका थिए।
त्यसो त रवीन्द्रबहादुर धानुक पनि विगतमा देउवानिकट भएर काम गरेका र उनीमाथि सत्ता साझेदार माओवादीको पनि विश्वास छ। अर्थमन्त्री जनार्दन शर्माकै जोडबलमा धानुक एआईजी भएका हुन्। धानुक पनि अहिले आईजीपी बन्न च्यानल मिलाइरहेका छन्।
प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)हरू मध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, मातहतका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने व्यवस्था छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ