बुधबार, फाल्गुन ६, २०८२

दुलेगौडा–कोत्रे सडक: घाम लाग्दा धुलो, पानी पर्दा हिलो


कान्तिपथ


पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा–कोत्रे सडकखण्ड धुलाम्य भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । शुक्लागण्डकी –२ हलेदीमा सडक मरमत नहुँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलो भएपछि स्थानीयवासी सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका हुन् । पटक–पटक सम्बन्धित निकायमा धुलो नियन्त्रणका लागि आग्रह गरे पनि चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानीयवासी तीर्थराज खनालले बताउनुभयो । स्थानीयवासीले शुक्रबार कोत्रेमा १५ मिनेट र शनिबार हलेदीमा ३० मिनेट राजमार्ग अवरुद्ध गरेका छन् ।

“हामीले राज्यलाई तिर्नुपर्ने सब कर तिरेका छौँ, तर पनि हाम्रो माग पूरा हुँदैन, सधैँ धुलो खाएर बस्नुपरेको छ”, उहाँले भन्नुभयो । सडक डिभिजन कार्यालयमा विभिन्न मितिमा डेलिगेशन गएर सडक मर्मतको माग गरिए पनि सुनुवाइ नभएको स्थानीय युवा शङ्कर पन्तले जानकारी दिनुभयो । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका लागि ठेक्का लागिसकेकाले सडक डिभिजनले केही गर्न नसक्ने बताएको पन्तले बताउनुभयो । “सम्बन्धित निकायमा गयो, माग सुनुवाइ हुँदैन, आन्दोलन गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

सडकखण्ड धुलाम्य हुँदा यस ठाउँका स्थानीयवासीका अलवा राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणले पनि सास्ती भोग्दै आएका छन् । यस ठाउँको विभिन्न खण्डमा सडक भत्किँदा दुई पाङ्ग्र्रे सवारी दुर्घटनामा पर्ने गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत