बुधबार, चैत्र २५, २०८२

राष्ट्रिय फुटबल टिमका खेलाडीद्वारा ‘विद्रोह’


कान्तिपथ


नेपाली राष्ट्रिय फुटबल टिमका १० सिनियर खेलाडीले ‘विद्रोह’ गर्दै एएफसी एसियन कप छनोटका लागि राखिएको बन्द प्रशिक्षण क्याम्प छाडेका छन् । बन्द प्रशिक्षण छोड्नेमा रोहित चन्द, अन्जन विष्ट, अनन्त तामाङ, विमल घर्ती मगर, विशाल राई, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, दिनेश राजवंशी र सुमल लामा रहेका छन् ।

खेलाडीहरुले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै टिम छाडेको बताइएको छ। एसियन कपको तेस्रो चरणको छनोटका लागि नेपाली टोलीले दुई सातादेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रशिक्षण गर्दै आएको थियो । त्यसका लागि खेलाडीहरूलाई वर्ल्ड ट्रेड सेन्टरको होटलमा राखिएको थियो ।

मंगलबारको प्रशिक्षण सकाएर होटल पुगेका १० खेलाडी राति ९ बजे हिँडेका थिए । टिम मिटिङमा भने सबै खेलाडी सहभागी भएका थिए । तर राति होटल छाडेर हिँडेका जानकारी पाएको राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले पुष्टि गरेका हुन्।

टिमसँगै होटलमा रहेका व्यवस्थापन कृष्णभक्त मानन्धर खेलाडी हिँडेको जानकारी गराएका थिए । एन्फा अनुसार सिनियर खेलाडी रोहित चन्द चोटका कारण रिह्याब गरिरहेकाले नियमित प्रशिक्षणमा गएका थिएनन् । रोहितले प्रशिक्षण छाडेपछि प्रशिक्षकले राम्रो व्यवहार नगरेको भन्दै अन्य सिनियर खेलाडीले पनि टिम छाडेका हुन् ।

खेलाडीहरूले होटल छाडेको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) र मुख्य प्रशिक्षक अल्मुताइरीले धारणा सार्वजनिक गरेको छैन । प्रशिक्षक अल्मुताइरीले बुधबार नयाँ खेलाडी बोलाएर प्रशिक्षण गराए भने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग होटल छाडेका खेलाडीहरुले भेट गरेर छलफल गरेका छन् ।

मुख्य प्रशिक्षाक अल्मुताइरीले खेलाडीलाई मिडिया बोल्न नदिने, अन्तर्राष्ट्रिय खेलपछि म्यान अफ दि म्याच बनेका खेलाडीलाई पोष्ट म्याचमा बोल्न नदिने गरेका थिए । त्यसका बावजुत पनि खेलाडीहरु अल्मुताइरीकै समर्थनमा थिए । तर बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुले आफ्नो सेवा सुविधाबारे गुनासो गरेपछि दुरी बढ्न थालेको अधिकारीहरू बताउँछन् ।

कप्तान किरणको साथ

राष्ट्रिय फुटबल टिमका कप्तान किरण कुमार लिम्बु भने बन्द प्रशिक्षण छाड्ने १० खेलाडीको पक्षमा उभिएका छन् । व्यवसायिक फुटबल खेल्न माल्दिभ्समा रहेका किरणले प्रशिक्षकको व्यवहारबाट असन्तुष्टि पोखेका छन् ।

‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत