बुधबार, चैत्र २५, २०८२

गोहीका ५१९ अण्डा सङ्कलन


कान्तिपथ


चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीबाट घडियालका ५१९ वटा अण्डा सङ्कलन गरिएको छ । ती नदी किनारमा भेटिएका १६ वटा गुडबाट अण्डा सङ्कलन गरिएको हो ।

निकुञ्जभित्र रहेको गोही प्रजनन् केन्द्र हेर्दै आउनुभएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका छ गुडबाट अण्डा सङ्कलन गरिएको हो । ती दुई नदीमा भेटिएकामध्ये आठ वटा गुडका अण्डा ल्याइएको छैन । ती दुई नदीबाट गत वर्ष ४३६ वटा अण्डा ल्याइएको थियो । ती अण्डाबाट २५८ वटा बच्चा कोरलिएका थिए । 

विगत दुई वर्षदेखि प्रजनन् केन्द्रमा पारेका अण्डाबाट बच्चा कोरलिएका छैनन् । त्यहाँ २०३५, २०३६ र २०३७ सालका एक भाले र १२ वटा पोथी गोही छन् । त्यसयताका साना ठूला गरी ५३१ गोही रहेको पौडेलले जानकारी दिनुभयो । 

प्रजनन् केन्द्रमा भाले बुढो भएका कारण बच्चा नकोरलिएको हुनसक्ने अनुमान छ । प्रजनन् केन्द्रमा रहेका अन्य गोही साना भएकाले भाले पोथी पहिचान हुन सकेका छैनन् । पौडेलका अनुसार राप्ती र नारायणी नदीमा भने पाँच वटा भाले गोही देखिएका छन् । नदीमा भाले गोही नदेखिएपछि केही वर्षअघि बबइबाट एउटा भाले ल्याइएको थियो । राप्ती र नारायणी नदीमा अण्डा सङ्कलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छोड्ने गरिएको छ ।

हालसम्म राप्ती, नारायणी, कोसी र बबई नदीमा एकहजार ६९२ गोही छाडिसकिएको छ । निकुञ्जले विसं २०३५ मा गोही प्रजनन् केन्द्र स्थापना गरी प्रजनन् केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ । 


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत