मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ ।
त्यसै क्रममा सरकारले मंगलबार मध्यरातदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो।
सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई मंगलबार मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अनुमति बेगर सीमाबाट आउ-जाउ गर्न नदिन निर्देशन दिइएको जानकारी दिए ।
नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ ।
अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरुका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्दछ ।
मतदानका दिन सवारी अनुमति पत्र बोकेका गाडीहरुमात्र गुडाउन पाइने छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ