शुक्रबार, चैत्र २७, २०८२

ओलीको भाषण स्तरहीन भन्दा संसद अवरुद्ध


कान्तिपथ


उद्योग तथा वाणिज्यमन्त्री दिलेन्द्रप्रसाद बडूले नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेताविरुद्ध ‘जथाभावी’ बोलेको भन्दै एमालेले संसद् अवरुद्ध गरेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा सार्वजनिक महत्वका विषयमा विशेष समय लिएर बोल्न पुगेका बडूले ओलीले बिहीबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिका बारेमा बोलेको कुराको जवाफ दिँदै ओलीको भनाइ ‘स्तरहीन’ भएको बताए।

बडूले भने, ‘ओलीको उक्त भनाइ भ्रामक, स्तरहीन र खेदजनक छ।’ नेकपा एमालेका सांसद खगराज अधिकारीले ‘स्तरहीन’ शब्द गालीगलौज भएको बताउँदै नियमापत्ति गरे। उनले भने, ‘नेपाल सरकारका मन्त्रीले स्तरहीन भनेर गालीगलौज गर्न पाइँदैन। शब्द फिर्ता लिनुपर्छ।’

सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा रुलिङ गरे। तर, मन्त्री बडू रोकिएनन्। उनले थपे, ‘जनताको हितमा गरिने सत्कार्यमा कमिसन मात्रै देख्ने दुर्नियत देख्दा, साउनको महिनामा दृष्टि गुमाएको गोरुले हरियो मात्रै देख्छ भन्ने उखान स्मरण गराउँछ।’

उनले प्रयोग गरेको उखानले एमाले सांसद्लाई थप उद्वेलित बनायो। ओलीलाई मुखभरिको जवाफ दिने तयारीका साथ आएका बडू अझै अघि बढे, ‘आफू प्रम हुँदा कमिसन नै कमिसनको चास्नीमा रमाइरहेकाले सत्ता गुमाउन पुगेकाले कमिसनबाहेक के देख्न र सोच्न सक्दछ र भन्ने प्रमाणित गराउँदछ।’

एमालेले नियमापत्ति गरिरह्यो। सांसद्हरुले विरोध जनाउँदै संसद् नै अवरोध गरे। होहल्लाकाबीच मन्त्री बडू फेरि बोलिरहे। मन्त्री बडूबाट ओलीलक्षित अर्को वाण प्रहार भयो, ‘सत्ता गुमाएको कुण्ठा र रोदन कम गर्न पनि सुझाव दिन चाहन्छु।’

यसबीचमा एमाले विरोध जनाइरहेको थियो। बडूले बोलिरहेपछि नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बोल्ने समय मागे। उनले प्रमुख प्रतिपक्ष दलका नेतामाथि गम्भीर आक्षेप लगाउँदै सडकमा पनि प्रयोग गर्न नमिल्ने भाषा प्रयोग भएको बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत