काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई १ हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन् । उपमेयर सुनिता डंगोलसहित शुक्रवार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्ने क्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर १ हप्ताभित्र दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताए ।
त्यसका लागि आफूले विज्ञसँग आवश्यक छलफल गरेको पनि उनले बताए । मेयर साहले ३ महिनाभित्र मल र ग्यास दुवै निकाल्न शुरू गरेर फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
उनले भने, ‘१ हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ । मल र ग्यास पनि बनाइन्छ, त्यसका लागि ३ महिना लाग्छ । केमिकल हालिसकेपछि १ हप्ताभित्र गन्ध हटाइन्छ । बन्चरेडाँडाको पनि सबै रिपोर्ट हेरियो । सड्ने र नसड्ने फोहोर छुट्याउने, त्यसबाट मल र ग्यास निकाल्ने हो । सड्ने र सड्ने फोहोर छुट्याउनका लागि काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैलाउने काम गर्नेछ ।’
मेयर साहले फोहोर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहोर छुट्याउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाडौंवासीको घरघरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेका छन् । मेयर साहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटक–पटक दोहोर्याए । यता स्थानीयले भने आफूहरूको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विर्सजन गर्न दिन नसकिने अडान राखेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ