शुक्रबार, चैत्र २७, २०८२

वन कार्यालय पर्साको लापरवाहीले ५० लाखको पोखरी प्रयोगविहिन


कान्तिपथ


पर्साको सबैया साझेदारी वन क्षेत्रमा वन्यजन्तुलाई केन्द्रित गरि बनाइएको पोखरीमा व्यापक अनियमितता भएको देखिएको छ । डिभिजन वन कार्यालय पर्सा अन्तर्गत सो क्षेत्रमा बनेको २ वटा पोखरी प्रयोगमा नआएपछि अनियमितता भएको देखिएको हो । उक्त स्थानमा २ वटा पोखरी निर्माण गर्न डिभिजन वन कार्यालयले ५० लाख रुपैयाँ खर्चेको थियो ।

तिर्खाएका जनावर वस्ती नपसोस भन्ने उद्धेश्यले जंगलमा पोखरी बनाउने रणनीति भएपनि वन कार्यालयले भने सिमसार क्षेत्र रहेको उक्त स्थानमा चारैतर्फ माटो उठाएर गहिरो बनाउन खोज्दा भएको सिमसार क्षेत्र पनि नास हुन पुगेको छ ।

‘न त अहिले पोखरीमा पानी छ, न त त्यहाँ वन कार्यालयले लिएको उद्देश्य अनुरुप जंगली जनावरहरु पानी खान आउने गर्छन्,’ स्थानीय प्रकाश गोले भन्छन्, ‘बरु भएको सिमसार क्षेत्र पनि माटो उठाउँदा सुख्खा बन्न पुगेको छ ।’

पोखरी बनेको स्थानमा पहिले पानी यत्रतत्र हुन्थ्यो, तर पोखरी बनाएपछि भने वर्षामा बाहेक अरु बेला आफूहरुले पानी नदेखेको उनी बताउँछन् । ‘जंगली जनावरलाई लक्षित गरेर पोखरी बनाइएको भने पनि पोखरी भित्र छिर्न निकै कठिन छ । वरिपरि राखिएको माटोको उचाइ नै धेरै रहेकाले आएका जनावर पनि पोखरीमा छिर्दैनन्, उनी भन्छन् ।’

सिमसार क्षेत्र रहेकाले त्यस क्षेत्रलाई संरक्षण गर्दै सुख्खा क्षेत्रमा पोखरी बनाउनु पर्नेमा कार्यालयले बजेट पचाउन पहिले नै गहिरो रहेको उक्त स्थानको चारै तिरबाट माटोको थुप्रो मात्रै उठाएको छ । २ वटा पोखरी करिब २ विघा क्षेत्रफलमा फैलिएको छ । पोखरीको पश्चिम र उत्तरतर्फ अहिले पनि सिम क्षेत्र छ भने दक्षिणतर्फ सानो खोला छ । पुर्वतर्फ भने भेडाहा खोला पर्छ ।

पर्याप्त पानी रहेको क्षेत्रमा नै पोखरी बनाउने नियम नै नरहेको भए पनि डिभिजन वन कार्यालयले बजेटमाथि अनियमितता गर्न वरपर माटो थुपारेर पोखरीको रुप दिएको हो ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख फरमान मियाँ र कार्यालयका अधिकृत तथा सबैया साझेदारी वन व्यवस्थापन समुहका सदस्य सचिवसमेत रहेका रेयाज अहमद अंसारीको मिलेमतोमा सिमसार मास्ने गरी पोखरी निर्माण गरिएको हो ।

अहिले पोखरी प्रयोग विहिन बनेको छ । पोखरीमा भएको अनियमितताको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी परेकाले अख्तियारले समेत छानविन अघि बढाएको छ ।

पोखरी निर्माणको बारेमा डिभिजन वन प्रमुख फरमान मियाँसँग जानकारी माग्दा आफूले अख्तियारलाई फाइल पठाइसकेकाले यसबारेमा नबोल्ने भन्दै प्रतिकृया दिन मानेनन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत