बुधबार, चैत्र २५, २०८२

बन्दीपुरमा मौलिक पराम्परागत घर संरक्षण


कान्तिपथ



पहाडकी रानी उपनामले परिचित बन्दीपुर क्षेत्रमा रहेका मौलिक परम्परागत घर संरक्षण गर्न थालिएको छ । नमूना सहरको रुपमा ख्याती कमाएको यो क्षेत्रको परम्परा जोगाइ राख्न बन्दीपुर गाउँपालिकाले मौलिक घर संरक्षणलाई प्राथामिकता दिँदै आएको हो । आधुनिक घरले मौलिकता गुमाउने हुँदा त्यस्ता घर निर्माणमा प्रतिबन्ध लगाइ परम्परागत घरको जगेर्ना गर्न थालिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

बन्दीपुरका परम्परागत घरमा काठका बुट्टा भएका झ्याल, ढोका, तथा बरण्डा, इँटा बाहिर देखिने प्यागोडा शैलीका घर बन्दीपुरको मुख्य आर्कषण आर्कषण बनेको छ । अठारौँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवार समुदायले भक्तपुरे शैलीका घर र ढुङ्गा विच्छ्याएको बाटो निर्माण गरेका थिए । यहाँ घर बनाउनेलाई सटर तथा च्यानलगेट राख्न र आल्मुनियमका झ्यालढोका राख्न प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो ।

सालको काठ महँगो पर्ने भएकोले सामुदायिक वनसँग सहकार्य गरी शुलभदरमा काठ खरिद गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । परम्परागत तरिकाले घर बनाउन चाहनेलाई सामुदायिक वनबाट काठ खरिदका लागि गाउँपालिकाले पत्र लेखी पाँच गुणा सस्तोमा काठ खरिदको व्यवस्था मिलाइएको छ । च्यानलगेट राख्ने, सटर राख्नेजस्ता नियम विपरीत घर बनाउनेका नक्शापास रोकिदिने गरिएको छ । पर्यटकीयस्थल भएकोले मौलिक घरले व्यवसाय वृद्धि गर्न सहयोग पुग्ने हुँदा सहुलियत दरमा काठ खरिदको लागि व्यवस्था मिलाइएको हो । अध्यक्ष थापाले भन्नुभयो,“बन्दीपुरमा पर्यटकको आगमन बढेसँगै नयाँ घर बन्ने क्रम पनि बढ्दै गएको छ । बन्दीपुरबाट धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध, हिमालदेखि पूर्वका गणेश हिमाल, लाङ्टाङ हिमशृङ्खलाका सयौंँ चुचुरो सजिलै देखिन्छ ।” प्रमुख आर्कषण मौलिक घरका अतिरिक्त विभिन्न जातजातिको कला, सस्कृति, ढुङ्गा विच्छ्याइएका बाटा, विभिन्न मठमन्दिर, फराकिलो टुँडिखेल, शहीदपार्क, बाख्रा अनुसन्धान केन्द्र, रेशम खेती, प्याराग्लाइडिङ आदि हुन् । बन्दीपुरबाट आधाघण्टा ओरालोमा एशियाकै ठूलो मानिने सिद्ध गुफा अवलोकन, मस्र्याङ्दी नदीमा जलविहार, छाङ्दीमा क्यानोनिङ, चुनपहरामा चट्याङ आरोहण र मनोरम दृश्यले पर्यटक आकर्षित हुने गर्छन् ।

यहाँ करोडौँको लगानीमा ठूला ठूला रिर्सोट बन्ने क्रम बढिरहेको छ । काठमाडौँ घर भई हाल बन्दीपुरमा पर्यटन व्यवसाय गर्नुभएका विकास श्रेष्ठले काठमाडौँबाटै आँखी झ्याल, बट्टे ढोका झिकाएर करिब रु १८ करोडको लगानीमा नयाँ रिर्सोट निर्माण गरी सञ्चालनमा ल्याइसकिएको बताउनुभयो । बन्दीपुरको पहिचानको संरक्षणमा टेवा पुर्याउन लागि महँगो भए पनि मौलिक घर बनाइएको उहाँको भनाइ थियोे ।

झोलुङ्गे पुलले जोड्यो दुई पालिका

तनहुँको म्याग्दे गाउँपालिका–६ र व्यास नगरपालिका–६ को साँगेखोलामा झोलुङ्गे पुल निर्माणले दुई पालिकालाई जोडेको छ । पुल नहुँदा वर्षायाममा लामो दूरी घुमेर हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ ।
पुल निर्माण भएर सञ्चालनमा आएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । पुल बनेपछि वर्षायाममा खोला तरेर वारपार गर्दाको समयमा मानिस बगाउने समस्या अन्त्य हुनाका साथै आवतजावत गर्न सहज भएको साँगेखोला–लामेरह पानीघट्टा झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष रेखबहादुर थापाले जानकारी दिनुभयो ।

नेपाल सरकार र म्याग्दे गाउँपालिकाको कूल रु ४३ लाख १० हजार ६१ को लागतमा निर्माण गरिएको उक्त पुलका लागि नेपाल सरकारबाट ८५ प्रतिशत र म्याग्दे गाउँपालिकाको आन्तरिक स्रोतबाट १५ प्रतिशत व्यहोरिएको थियो । विसं २०७८ चैत १३ गते सुरु गरी विसं २०७९ असार १५ भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएकामा अगाडि नै निर्माण सम्पन्न भएको अध्यक्ष थापाले बताउनुभयो । करिब ६७ मिटर लामो पुल निर्माणपछि दुई पालिकाका करिब एक हजार भन्दाबढी मानिस प्रत्यक्ष लाभान्वित हुने गैरसरकारी संस्था समन्वय समिति तनहँु शाखाका, झोलुङ्गे पुल कार्यक्रम संयोजक राजेश्वर हड्खलेले जानकारी दिनुभयो ।

उक्त समितिको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको उहाँले बताउनुभयो । पुलको अभावमा बर्सेनि मानिस बगाएर मानवीय क्षति हुने गरेकाले त्यस क्षेत्रका बासिन्दाले विगत लामो समयदेखि नै पुल निर्माणका लागि माग गर्दै आएका थिए । पुल निर्माणपश्चात् म्याग्दे गाउँपालिका–६ सर्वालाङ्गका बासिन्दाले एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत