शुक्रबार, चैत्र २७, २०८२

किन गर्दै छन् किसान कालानिमक धानको संरक्षण!


कान्तिपथ



तराईका जिल्लामा रोपाइँ हुने गरेको कालानिमक धानको संरक्षणमा लुम्बिनीका किसान जुटेका छन्् । मीठो बास्ना र स्वादिलो चामलको रुपमा रहेको अन्य चामलको भन्दा तेब्बर मूल्य पर्ने यो धानको उत्पादनमा बढी ध्यान दिनुपर्छ ।

पछिल्लो समय स्थानीय किसान उक्त धान रोपाइँमा लालयित देखिन थालेका छन् । बौद्धकालीन संस्कृतिसँग ऐतिहासिक साइनो जोडिएको उक्त धानको प्रचारप्रसारमा स्थानीय युवा चन्द्र पाठक, अर्जुन कुर्मीले अभियान नै चलाएपछि यसको महत्व बुझेर लुम्बिनीका किसानले उक्त धान लगाउन थालेका हुन् ।

लुम्बिनीका सत्यदेव पाठकले आफूले जानेदेखि नै उक्त धान नै रोपाइँ गर्दै आएको बताउनुभयो । स्थानीय जातको यो धानलाई परम्परागत रूपमा नै किसानले लगाउँदै आएको र यसको वैज्ञानिक परीक्षणसमेत नगरिँदा कालानिमक धान लोप हुने अवस्थामा पुगेको थियो । कम खर्चमा बढी उत्पादन हुने हाइब्रिड धानखेतीप्रति किसानको बढ्दो आकर्षणका कारणसमेत कालानिमक धान विस्थापित हँुदै गएको किसान राम उजागिर पाण्डेले बताउनुभयो ।

राज्यले लोपोन्मुख धानको संरक्षण गरी पर्यटनसँग जोडेर काम गर्नुपर्ने पाठकले बताउनुभयो । परम्परागत भएकाले अहिलेका युवा पुस्ताले कालानिमक धानलाई संरक्षण गर्ने दायित्व रहेको युवा किसान मुरलीकुमार कहारले बताउनुभयो । यो धानलाई पानी धेरै आवश्यक पर्ने भएकोले सिँचाइको व्यवस्था भएको खेतमा मात्र लाउन सकिन्छ । फल्न बढी समय लाग्ने, कम उत्पादन हुनेलगायतका समस्याले गर्दा अहिले किसानले यो धान लाउन छाडेका छन् ।

लुम्बिनीमा लगाइएको यो धानले सारस संरक्षणमा पनि योगदान दिएको छ । एक अध्ययनले यसको चामलमा पर्याप्त मात्रामा भिटामिन पाइने देखाएको छ । शाक्यवंशीय राजा शुद्धोधनले राजकीय धानको रुपमा कालानिमक धानलाई स्थापित गर्ने गरेका थिए । बौद्ध जातक अनुसार राजा शुद्धोधन सबैभन्दा अघि सुनको हलो, त्यसपछि मन्त्री चाँदीको हलो र अन्तिममा जनता काठको हलो लिएर कालानिमक धान रोपाइँ गर्ने गर्दथे । आजकल यो धान भने दुईचार किलो भए पनि घरमा राख्ने र विशेष अवसरमा पकाउने परिकारको रुपमा लिने गरिन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत