बुधबार, चैत्र २५, २०८२

वालिङको पहिचान ‘गुलाबी अभियान’


कान्तिपथ



स्मार्ट सिटीको अवधारणाअनुसार काम गर्दै आएको स्याङ्जाको वालिङ नगरपालिकालाई ‘गुलाबी सहर’ बनाउने अभियान पनि प्रभावकारी बन्दै गएको छ । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनसँगै निर्वाचित जनप्रतिनिधि र नगरपालिकाभित्र रहेका विभिन्न सङ्घ संस्थाको सामूहिक छलफलबाट वालिङलाई ‘गुलाबी सहर’ कारुपमा विकास गर्ने अभियान थालिएको थियो । गुलाबी रङलाई सौहार्दता, माया, सुन्दरता र शक्तिको प्रतीककारुपमा मान्दै आइएकाले पनि यो रङ छनोट गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।

‘गुलाबी सहर’ बनाउने अभियानलाई यसअघि नै नगरसभाले पारित गरेर अगाडि बढेसँगै अहिलेको नीति तथा कार्यक्रममा यसलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । “नगरपालिकाभित्रका बजार वा गाउँमा नयाँ बनेका ८० प्रतिशतभन्दा बढी घरमा गुलाबी रङ लगाइएको छ” प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “नयाँ बनेका घरको हकमा गुलाबी रङ नलगाउँदासम्म घर सम्पन्नताको प्रमाणपत्र दिदैनौँ, गुलाबी रङलाई अनिवार्य गरेका छाँैं ।”

घरको बाहिरी भित्तामा घरधनीले अनिवार्यरुपमा गुलाबी रङ लगाउनुपर्ने छ भने भित्री भित्तामा आफ्नो रोजाइँको रङ प्रयोग गर्न पाईने उहाँले उहाँले बताउनुभयो । पुराना घरमा पनि रङ रोगन गर्दा बाहिरी भित्तामा गुलाबी रङ प्रयोग गर्न नगरपालिकाले आग्रह गरेको छ । जनप्रतिनिधिको दृष्टि तथा नगरवासीको साथ र सहयोगले नै नगरपालिकालाई ‘गुलावी सहर’ का रुपमा पहिचान दिने गरी अगाडि बढ्न सकिएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो । वालिङमा २०७४ सालदेखि हालसम्म एकहजार ८२० नयाँ घर निर्माण भएको नगरपालिकाको घरनक्सा शाखामा उल्लेख छ ।

उक्त शाखाका अनुसार नयाँ बनेका सबै घरका बाहिरी भित्तामा गुलाबी रङ लगाइएको छ । गुलाबी रङ नलगाइकन सम्पन्नताको प्रमाणपत्र नदिइने भएकाले पनि घरमा गुलाबी रङ लगाउने अभियान प्रभावकारी बन्दै गएको हो । वालिङस्थित विभिन्न कम्पनीका रङका डिलर तथा बिक्रेतासँग छलफल गरी गुलाबी रङमा ग्राहकले खरिद गर्दा मूल्यमा झण्डै आधा छुट दिने व्यवस्था नगरपालिकाले मिलाएको थियो ।

रङ व्यवसायी तथा कम्पनीले रङको खरिदमा छुट दिएर वालिङलाई ‘गुलाबी सहर’ कोरुपमा पहिचान दिनेगरी सहकार्य गर्दै अगाडि बढेको वालिङस्थित जय श्री अधिकारी ब्रदर्शका सञ्चालक वासुदेव अधिकारीले बताउनुभयो । “नगरपालिकाले अगाडि सारेको गुलाबी अभियानमा सहकार्य गर्दै करिब आधा छुट उपलब्ध गराएका थियौँ” उहाँले भन्नुभयो,“तर पछिल्लो समय रङको मूल्य चार÷चार पटक वृद्धि भएर आएकाले हाल बढीमा २०–२५ प्रतिशतमात्रै छुट दिन सकिने अवस्था छ ।” गुलाबी रङभित्रैबाट विशेष सुत्रमार्फत छुट्टै ‘वालिङ पिङ्क’ नामक रङ उत्पादन गरी सबै व्यापारी तथा डिलरलाई उक्त सुत्र अनुसार रङ बनाउन सिफारिस गरिएकाले एकरुपता भएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत