आजको सामाजिक संजालको युगमा सार्वजनिक जीवनमा रहेका ब्यक्तित्वहरुले सार्वजनिक रुपमा आफ्ना अभिव्यक्ति दिदा बेलाबेलामा ट्रोलको सिकार बन्ने गर्छन् । आफुलाइ ज्ञान नभएको बिषयमा र तथ्य पुष्टि नभएको बिषयहरुमा बोल्दा उनीहरु विवादित भइरहेका छन् ।
नवबिबाहित ज्योतिष तथा अभिनेता हरिहर अधिकारी यतिबेला एउटा अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक संजालमा ट्रोल हुन पुगेका छन् । सामाजिक संजाल जस्तै ट्वीटर र फेसबुकमा उनलाई ट्रोल बनाउने संख्या बढिरहेको छ ।
उनले युट्युब पडकास्टर सञ्जय गुप्ताको संगको अन्तर्वार्तामा अमेरिकी अन्तरिक्ष नियोग नासामा दुई वर्ष संस्कृतको क्याप्सुल कोर्स हुने, अन्तरिक्षमा संस्कृत भाषाको माध्यमबाट सम्पर्क स्थापित गर्न सकिने, संस्कृत ब्रम्हाण्डीय भाषा भएको, संस्कृतको ओरिजिन सूर्यबाट आएकाले अन्तरिक्षबाहिर पनि त्यसले काम गर्ने, हरेक मन्त्र संस्कृतमा गर्दा त्यसको ध्वनि युनिभर्सभन्दा बाहिर जाने भन्दै तथ्य पुष्टि नभएको बिषयमा अभिव्यक्ति दिएपछि हरिहर ट्रोलको सिकार भएका हुन् ।
ट्वीटरमा बौद्धिक वर्ग तथा प्राध्यापकसहित अन्य पेशा क्षेत्रका जानकारहरु देखि सर्वसाधारणले पनि हरिहरको कुरामा तथ्य नभएको बताएका छन् भने सामाजिक संजालमा आलोचना खेप्न परेको छ ।
गत महिना अभिनेत्री नीता ढुंगानासँग विवाह गरेका अधिकारीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दल प्रवेशको प्रस्ताव पनि गरेका थिए । हरिहर फिल्म ह्रस्वदीर्घ निर्माणको तयारीमा छन् ।