बिहिबार, मंसिर २१, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • एमालेमा लागेका माओवादी नेताले टिकट पाउनै मुस्किल: पाउने जतिको हरिबिजोक !

एमालेमा लागेका माओवादी नेताले टिकट पाउनै मुस्किल: पाउने जतिको हरिबिजोक !


कान्तिपथ


आगामी मङ्सिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन हुने भएसँगै राजनीतिक दलहरूलाई चुनावी चटारोले छोएको छ । भोलिसम्म निर्वाचन आयोगले दल दर्ताको समयसिमा दिएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि सिट बाँडफाँट गर्न कार्यदल नै गठन गरेर गृहकार्य थालिसकेको छ भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले भदौ दोस्रो साताभित्र पार्टी कमिटीका बैठक राखेर चुनावी रणनीति, कार्ययोजना र उम्मेदवार तय गर्ने तयारी थालेको छ ।

माओवादी छाडेर एमालेमा लागेका नेताहरुमध्ये केहिले समानुपातिकतर्फ आँखा लगाएका छन् भने केहि प्रत्यक्ष लड्ने तयारीमा छन् । एमाले तर्फ लाग्ने पुर्व माओवादी नेताहरुको चुनावी क्षेत्रको चर्चा यहाँ गरिएको छ ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला समेत रहेको चितवन पछिल्लो दशक चुनावी चर्चाको केन्द्रमा रहँदै आएको छ । चितवनमा यसपटक नयाँ ‘हेभीवेट’ उम्मेदवार भित्रिने हल्लाले भित्रभित्रै राजनीतिक माहोल तात्न थालेको छ । चितवन क्षेत्र नम्बर २ बाट २०७४ मा वाम गठबन्धनका एमाले उम्मेदवार कृष्णभक्त पोखरेल विजयी भएका थिए । पोखरेलले ४४ हजार ६७० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत पाएका थिए । यसपाली यो क्षेत्रमा एमाले उपाध्यक्ष बादलको आँखा लागेको छ ।

चितवन २ मा भरतपुर महानगरपालिकाका १० वटा वडा (१, २, ३, ४, ५, ७, १०, ११, १२ र २९), कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन् । गएको स्थानीय निर्वाचनमा कालिका र इच्छाकामनामा एमाले विजयी भएको थियो भने भरतपुरका १, २, ४, ५, १० र २९ मा कांग्रेस, ३, ११ र १२ मा एमाले तथा ७ नम्बर वडामा एकीकृत समाजवादी विजयी भएका थिए । स्थानीय निर्वाचनमा वडा तहमा पनि गठबन्धन भएको थियो । यही क्षेत्रबाट बादल उम्मेदवार बन्ने चर्चा चलेको हो । तर बादल समानुपातिकमा बस्ने सम्भावना ज्यादा छ ।

सचिव टोपबहादुर रायमाझी
टोपबहादुर रायमाझीले पुरानै क्षेत्र अर्घाखाँचीबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन् । २०७४ मा रायमाझीले ५०८३७ मत ल्याउँदा प्रतिस्पर्धी काँग्रेसका रामबहादुर बिसीले ३२५४४ मत ल्याएका थिए । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो यो जिल्लामा एमाले ४८२६०, काँग्रेस ३७९२५ माओवादी ७७९०, राजमोका वडाध्यक्षका उम्मेदवारले ४२९४, एस ३७६३ मत पाएका थिए । यो हिसाबमा रायमाझी जित नजिक नै देखिन्छन् । २०६४, २०७० र २०७४ सालमा माओवादीबाट चुनाव जितेका रायमाझी मंसिर ४ को निर्वाचनमा एमालेबाट उम्मेदवार बन्ने अहिलेसम्म पक्कापक्की नै छ । ३ पटक लगातार जितेर ‘ह्याट्रिक’ गरी १५ वर्ष एकछत्र सांसद बनेका उनी चुनावी खेलाडीको रूपमा परिचित छन् ।

सचिव लेखराज भट्ट
लेखराज भट्ट पनि साबिक कैलालीको ४ नं क्षेत्रबाट निर्वाचन लड्दै छन् । उनले अघिल्लो निर्वाचनमा माओवादीका तर्फबाट ३१३५९ मत ल्याएर काँग्रेसका सुनिल कुमार भण्डारीलाई पराजित गरेका थिए । भण्डारीले २०९६० मत मात्र पाएका थिए । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा काँग्रेस २२९९७, एमाले २००८१, माओवादी १०१२३, एस ४०२९, राप्रपा ३२३, जसपा ६४, नागरिक उन्मुक्ति पार्टीले १६४ मत पाएको थियो । यो क्षेत्रमा काँग्रेस र माओवादी मिल्दा भट्टलाई यो पटक रेडजोनमा छन् ।

स्थायी समिति सदस्य मणि थापा
प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र रहेको प्यूठानमा गत निर्वाचनमा एमाले र माओवादीको साथले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल विजयी भएकी थिइन् । पौडेलले कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेललाई १६ हजार २८६ मतान्तरले पराजित गरेकी थिइन् । पौडेलले ४७ हजार ५१४ मत ल्याउँदा पोखरेलले ३१ हजार २८६ मत ल्याएका थिए । यसपटक सत्ता गठबन्धन निर्वाचनसम्म रहिरहे गठबन्धनबाट पौडेल र नेकपा एमालेबाट पोलिटब्यूरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापाबीच प्रतिस्पर्धा हुने देखिन्छ । एमालेबाट प्यूठानका प्रभावशाली नेता मणिचन्द्र थापा पनि टिकटको आंकाक्षी रहेका जिल्लास्तरीय नेताहरू बताउँछन् । मणि थापा समानुपातिकमा नाम लेखाउने सुरमा छन् ।

स्थायी समिति सदस्य प्रभु साह
२०७४ को निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका प्रभु साह फराकिलो मतको अन्तरले विजयी भएका थिए। साहले प्रतिस्पर्धी उम्मेदवारलाई ९ हजार ६ सय ६ मतले पराजित गरेका थिए। त्यति बेला उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका जितेन्द्र यादवले १८,१९३ मत ल्याएका थिए भने साहले २७,७९९ ल्याएका थिए । एक्ला एक्लै प्रतिष्पर्धा गर्दा साह सहज स्थितिमा छन् तर गठबन्धन हुने स्थितिमा भने साहलाई चुनाव जित्नु फलामको चिउरा चपाए जस्तो हुनेछ । उक्त क्षेत्रमा एमालेका वडा अध्यक्षको मत २१७२९, कांग्रेसको १९२४१, समाजवादीको ११७३६, माओवादीको ११२७९ छ भने जसपाको ९४८३ भोट रहेको छ । जनमत र लोसपा भने हजार/हजार भोटको हाराहारीमा छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत