विश्वस्तरबाट मानवीयता विरुद्धको नृशंश अपराधका रूपमा चित्रण गर्दै सरकारी कायरताको भर्त्सना गरिएको दोरम्बा हत्याकाण्ड घटेको १९ वर्ष पुरा भएको छ । १९ औँ स्मृति दिवसको लागी दोरम्बामा कार्यक्रमको आयोजना गरिएको छ ।
०६० साल साउन ३२ गते तत्कालीन सरकारी वार्ता टोली र माओवादी वार्ता टोलीबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेको थियो । सरकारी वार्ता टोलीको नेतृत्व डा.प्रकाशचन्द्र लोहनीले गरेका थिए भने माओवादी वार्ता टोलीको नेतृत्व डा.बाबुराम भट्टराईले गरेका थिए । हापुरेमा वार्ता चलिरहेकै बेला खबर फैलियो– रामेछापको दोरम्बामा शाही नेपाली सेनाले २१ जना माओवादी नेता कार्यकर्ताको सामुहिक हत्या गर्याे ।
सेनाले रामेछाप जनसरकार प्रमुख बाबुराम लामा ‘पुष्प’ सहित २१ जनाको हत्या गरेपनि उक्त घटना राष्ट्रिय अन्तर्राष्ट्रि रुपमा चर्चाको बिषय बन्न पुगेको थियो । उक्त घटनामा माओवादीका अम्बिका दाहाल (ललिका), प्रदिप दोङ (रक्तिम), टेकबहादुर थापामगर (विवेक), हर्कबहादुर तामाङ (यथार्थ), विष्णुमाया मगर (बिमा), रवि चौहान (समिर), ठूलाराम तामाङ (छोप्पा), सानाराम तामाङ (तारा), लक्ष्मण तामाङ (छाया), उमा कार्की (साहारा), पदमराज गिरी (असल), श्याम तामाङ (इन्क्लाव), सोमाइ थामी (संगीता), हर्क लक्ष्मी राई, जमिन, सोम, उषा, शिक्षक युवराज मोक्तान र लिला मोक्तानको सामुहिक हत्या भएको थियो ।
रामेछापको दोरम्वा बजारभन्दा केही तल स्थानीय शिक्षक युवराज मोक्तानको घरमा माओवादीका नेता कार्यकर्ताहरु आन्तरिक छलफलमा जुट्ने कुरा थाहा पाएपछि मन्थलीबाट मेजर राममणी पोखरेलको नेतृत्वमा करिब ८० जनाको संख्यामा गएको तत्कालीन शाही नेपाली सेनाले युवराजको घर घेरा हाली २१ जना नेता कार्यकर्तालाई कब्जामा लिएर निर्ममतापूर्वक हत्या गरेका थिए। गोली प्रहारपश्चात् सेनाले लाशलाई भीरबाट लडाइदिएका थिए।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ