२०७८ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको विभिन्न संकायबाट प्रथम वर्षको परीक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिका नभेटिएको खबर बाहिर आएको छ। सोहि कारणवस परीक्षा दिएको १३ महिनाभन्दा बढी भैसक्दा पनि नतिजा प्रकाशनको केहि सुरसार देखिएको छैन । यस घटनाले त्रिभुवन विश्वविद्यालयले आफ्ना विद्यार्थीहरुको भविष्यमाथि कति खेलवाड गरिरहेको छ भन्ने प्रस्ट पारेको छ ।
विश्वविद्यालयका सहनियन्त्रक घनश्याम ठाकुरबाट प्राप्त एक सूचना अनुसार विद्यार्थीको उत्तरपुस्तिका नभेटिएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको हो । उनको भनाइ अनुसार “हराएको चै होइन, विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँबाट परीक्षा दिए, त्यही भएर उनीहरुको कापी खोज्न र मिलाउन समय लागिरहेको छ ।”
परीक्षा दिएको १३ महिनाभन्दा बढी भैसक्दा पनि त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशनमा हतार नगर्नुको कुनै कारण भने देखिएको छैन । परीक्षा दिएका विद्यार्थी र विश्वविद्यालयकै कतिपय शिक्षकले खुलेआम आलोचना गर्दा समेत विश्वविद्यालय मौन छ ।
त्रिभुवन विश्वबिद्यालय, परीक्षा नियन्त्रक कार्यालय, बल्खुले गत असारमा एक बिज्ञप्ति जारी गर्दै २०७८ साल श्रावण महिनामा संचालित स्नातक तह प्रथम बर्षको परिक्षामा सम्मिलित बिद्यार्थीहरुको रोल नम्बर क्रमबद्ध नभएको र उत्तरपुस्तिका नभेटिएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको भनि जनाएको थियो ।
अर्को श्रोत अनुसार परीक्षा नियन्त्रक कार्यालय, बल्खुले कतिपय उत्तरपुस्तिका चेक जाँच नभईसकेको र परीक्षणका लागि हालै मात्र उपलब्ध गराउँदै गरेको बताएको छ ।
समयमा नतिजा प्रकाशन नगर्दा बिद्यार्थीहरु माझ नतिजामा त्रुटी आउने र कापी हराएको लक्षण देख्दा आफुले मिहिनेत गरे अनुसारको नम्बर नपाउने पो हो कि भन्ने त्रास देखिन्छ। अहिलेको समयमा हरेक दिन जसो विश्वबिद्यालयमा रहेका बेथितिबारे प्रकाशन हुने समाचारहरुले पनि बिद्यार्थीहरु आफ्नो भविष्यलाइ लिएर चिन्तित देखिन्छन । यस घटनाबारे सम्बन्धित निकायहरुको ध्यानाकर्षण हुनु जरुरि छ ।
– आफ्नो भविष्यलाइ लिएर चिन्तित एक विद्यार्थी
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ