आइतवार, अशोज ९, २०७९

सुराकी खर्चको नाममा १० करोड स्वाहा !


कान्तिपथ


देशमा आतंकवाद, सुरक्षा जोखिम, आन्तरिक द्वन्द्वलगायत समस्या नरहे पनि त्यसैका लागि सुराकी खर्चका नाममा गृहमन्त्री र गृहसचिवले सरकारी ढुकुटीको करोडौं रकम मनपरी खर्च गर्दै आएका छन् । तत्कालीन शान्ति सुरक्षाको परिस्थितिमा मन्त्रिपरिषदबाट गरिएको निर्णयअनुसार गृह मन्त्रालयबाट यसरी रकम खर्च गर्न पाउने व्यवस्था भए पनि परिवर्तित अवस्थामा समेत मन्त्री र सचिवले आफ्ना आसेपासे र कार्यकर्ता पोस्न रकम खर्च गर्दै आएका हुन् ।

२०५० जेठ १३ मा तत्कालीन मन्त्रिपरिषदले शान्ति सुरक्षा कायम राख्ने प्रयोजनका लागि एक पटकमा गृहमन्त्रीले ५० हजार र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्नसक्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयले एक पटकको खर्च सीमा तोके पनि समय अवधि भने किटान गरेको छैन । त्यतिबेला गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार थियो, जसमा हालका प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री थिए ।

त्यसबेलादेखि सुरु भएको सरकारी ढुकुटीको रकम आफूखुसी खर्च गर्ने गलत प्रवृत्ति तीन दशक पुग्न लाग्दासमेत रोकिएको छैन । महालेखा परीक्षकको कार्यालयको १० वर्षयताको प्रतिवेदनअनुसार मन्त्री र गृहसचिवस्तरबाट हरेक वर्ष सुराकी खर्चका नाममा खर्चिने रकम बढ्दै गएको छ, तर वृद्धिको आधार भने पारदर्शी छैन । १० वर्षको अवधिमा सुराकी खर्चमा राज्यकोषबाट १० करोडभन्दा बढी रकम खर्च भएको छ ।

महालेखाको हालै सार्वजनिक ५९ औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा गृहमन्त्रीले ६२ लाख ५० हजार र गृहसचिवबाट ७५ लाख ५५ हजार गरी कुल १ करोड ३८ लाख रुपैयाँ सुराकी परिचालनका नाममा खर्च भएको छ । आव २०७६/७७ मा मन्त्रीबाट ७२ लाख र गृहसचिवबाट ७६ लाख ५८ हजार गरी कुल १ करोड ४८ लाख ५८ हजार रुपैयाँ सुराकी खर्च भएको पर्दाफासले उल्लेख गरेको छ ।

आव २०७५/७६ मा गृहमन्त्रीबाट ७२ लाख र गृहसचिवबाट ७३ लाख ९ हजार गरी कुल १ करोड ४५ लाख, आव २०७४÷७५ मा मन्त्रीबाट ७६ लाख ५० हजार र गृहसचिवबाट ७९ लाख ५१ हजार गरी कुल १ करोड ५६ लाख रुपैयाँ सुराकी खर्च भएको महालेखाको प्रतिवेदनले जनाएको छ ।

शान्ति सुरक्षा व्यवस्थापन शीर्षकमा सुराकी खर्च बर्सेनि बढ्दै गए पनि पारदर्शी नभएको औंल्याउँदै महालेखाले त्यसलाई रोक्न निर्देशन दिँदै आएको छ तर कार्यान्वयन भने हुन सकेको छैन । महालेखाले यसरी खर्च गर्न पाउने व्यवस्था पुनरावलोकन गरी तजबिजी खर्च नियन्त्रण गर्नुपर्ने सुझाव दिँदै आए पनि सरकारले टेरेको छैन ।

महालेखाका अनुसार आव २०७३/७४ मा गृहमन्त्रीबाट ६१ लाख, गृहसचिवबाट ५३ लाख, आव २०७२/७३ मा मन्त्रीबाट ५९ लाख, गृहसचिवबाट २४ लाख, आव २०७१/७२ मा गृहमन्त्रीबाट ४६ लाख, गृहसचिवबाट २५ लाख, आव २०७०/७१ मा गृहमन्त्रीबाट ११ लाख, गृहसचिवबाट २२ लाख रुपैयाँ सुराकी खर्च भएको थियो ।

यस्तै, आव २०६९/७० मा गृहमन्त्रीबाट २ लाख, गृहसचिवबाट १५ लाख ४६ हजार, आव २०६८/६९ मा गृहमन्त्रीबाट ६८ हजार, गृहसचिवबाट ११ लाख १३ हजार रुपैयाँ सुराकी परिचालनलाई भनी खर्च भएको थियो । यस्तो रकम खर्च देखाउन साप्ताहिक, मासिक वा कुनै निश्चित अवधि किटान गरिने चलन नभए पनि स्पष्टतासहित अवधि किटान गरिनुपर्ने महालेखाको सुझाव छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत