मङ्लबार, बैशाख ८, २०८३
  • गृहपृष्‍ठ
  • राजनिति
  • चुनावपछि को छिर्ला संसद: विघटनका हर्ताकर्ता कि सडक आन्दोलनका हर्ताकर्ता ?

चुनावपछि को छिर्ला संसद: विघटनका हर्ताकर्ता कि सडक आन्दोलनका हर्ताकर्ता ?


कान्तिपथ


तत्कालिन प्रधानमन्त्री केपी ओलीले २ पटक संसद विघटन गर्दा सबैभन्दा सुरुमा सडकमा आए प्रचण्ड-माधव खेमाका विद्यार्थी नेताहरु रञ्‍जित तामाङ्ग र सुदेश पराजुली । एउटै पार्टीमा रहँदा तामाङ्ग र पराजुली जुडुवा झैं देखिन्थे । ओलीको सरकारको दोश्रो दर्जाका मन्त्री थिए इश्वर पोखरेल । अहिले ओलीको पार्टी नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्षसहित पोखरेल दोश्रो दर्जामा नै छन् । तामाङ्ग पोखरेलले भन्ने गरेको प्रतिगमनका नाईके थिए केपी ओली र इश्वर पोखरेल अनि सडक आन्दोलनको केन्द्रमा थिए उनै दुई दौतरी ।

सरकारले मङ्सिर ४ को लागि संसदीय चुनाव घोषणा गरेको छ । यिनै दुई तन्नेरी तामाङ्ग र पराजुलीले संसद विघटनका हर्ताकर्ता ओली र पोखरेलविरुद्ध चुनाव लड्ने घोषणा गरेका छन् ।

संयोग यी दुइ/दुइको निर्वाचन क्षेत्र मिल्छ । सत्ता गठबन्धनले आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीलाई जसरी पनि चुनाव हराएर साईजमा ल्याउने रणनीति लिएको छ । सत्तासिन दलको सिट बाँडफांडका लागि बनेको कार्यदलका संयोजक काँग्रेस नेता कृष्ण सिटौलाले तामाङलाई उम्मेदवार बनाउन प्रस्ताव गरिसकेका छन् । ‘ओलीलाई हराउन ओलीकै शैलीमा भाषण गर्न सक्ने र युवा चाहिन्छ’, सिटौलाको भनाइ उद्धृत गर्दै एक कार्यदल सदस्यले भने, ‘रञ्जित तामाङले ओलीलाई हराउन सक्छन्, उनैलाई टिकट दिनुपर्छ ।’ प्रचण्डलले पनि तामाङ्गलाई टिकट दिने आश्वसन दिएका छन् । प्रचण्डले आफ्नो बचन पुरा गरे झापा ५ को चुनाव रोचक हुने देखिन्छ ।

तामाङ माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् । पुसमा सम्पन्न माओवादी महाधिवेशनबाट उनी पार्टी केन्द्रीय सदस्य निर्वाचित भएका थिए । यसअघि ०७४ मा ओलीसँग काँग्रेसका डा. खगेन्द्र अधिकारी चुनाव लडेका थिए । ओली ५७ हजार १ सय ३९ मत ल्याएर निर्वाचित हुँदा अधिकारीले २८ हजार २ सय ५७ मत पाएका थिए ।

‘जसबाट हामीले देशको विकास र समृद्धिको अपेक्षा गर्यौं उसैले विकास र समृद्धिकोविरुद्ध धावा बोल्यो त्यहीँबाट म चुनाव लड्न चाहन्छु,’ तामाङले भने, ‘गठबन्धनलाई टिकट दिन अनुरोध गरेको गरेको छु, हामी विधि र पद्धतिमा छौँ । कुनै स्वतन्त्र उम्मेदवारले घोषणा गरे जस्तो गरेर हिँड्न मिल्दैन ।’

नेकपा एकीकृत समाजवादी, काठमाडौं क्षेत्र नम्बर ५ कमिटीले पनि प्रतिनिधिसभा सदस्यका लागि अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नाम गरेको छ । काठमाडौं–५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो। सो क्षेत्रमा पराजुलीले यसअघिदेखि नै निर्वाचन लड्ने बताउँदै आएका थिए। ०७४ को निर्वाचनमा पोखरेल यही क्षेत्रबाट निर्वाचित भएका थिए। पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष समेत रहेका पराजुलीले पोखरेलसँगै चुनावी प्रतिस्पर्धा गर्न लागेका हुन्।

पोखरेल २०७४ को निर्वाचनमा काँग्रेस उम्मेदवार प्रकाशशरण महतलाई हराउँदै निर्वाचित भएका थिए । पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३१६९ मत मात्र पाएका थिए । तर यो पटक पाँच दलीय गठबन्धन हुँदा पोखरेललाई जीत निकाल्न कठिन हुने देखिन्छ ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ५ मा एमाले स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारहरूले १९ हजार ७ सय ३ मत पाएका छन् । तर काँग्रेसले १४ हजार ८ सय ५३, माओवादीले ११ सय ६८ र एकीकृत समाजवादीले १८ सय २७ मत पाएको छ । राप्रपाको २८ सय २२ मत छ, यो क्षेत्रमा राप्रपाको मत निर्णायक समेत मानिन्छ । त्यस्तै यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दिने र प्रभावले पोखरेललाई चुनाैती हुनसक्छ ।

२०५६ सालमा निर्वाचन प्रचारकै क्रममा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीको निधन भएपछि ईश्वर पोखरेललाई सोही क्षेत्रमा उम्मेदवार बनाइएको थियो । त्यसबेला पनि उनले चुनाव जितेका थिए । २०६४ र २०७० सालमा भने पोखरेलले चुनाव हारेका थिए । त्यसबेला कांग्रेसका नरहरि आचार्य विजयी भएका थिए ।

२०७४ सालमा कांग्रेसले नेता डा. प्रकाशशरण महतलाई एमालेका नेता ईश्वर पोखरेलसँग भिडाएको थियो । डा. महतले करीब १० हजार मतान्तरले चुनाव हारे । डा. महत काठमाडौंको क्षेत्र छाडेर आफ्नो गृहजिल्ला नुवाकोट फर्किने मनस्थितिमा छन् ।

यता पराजुली यो क्षेत्रमा लोकप्रिय उम्मेदवार पनि हुन् । स्रोतका अनुसार समाजवादीले काठमाडौँमा जीवनराम श्रेष्ठ र पराजुलीलाई सुरक्षित गर्न खोजेको छ । तामाङ्ग र पराजुली दुवैले आफ्नो निर्वाचन क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू, सामाजिक अभियन्ता, गठबन्धन दल भित्रका नेता कार्यकर्तासँगको भेटघाट बढाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत