महाभियोगपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरूद्ध लगाइएको महाभियोग निष्क्रिय भएको दाबी गर्दै न्याय दिन आग्रह गरेका छन् । बुधबार महाभियोग सिफारिस समितिको बैठकमा बयान दिन पुगेका राणाले विधि–पद्धतिबाट काम गरिरहेकाे आफूलाई मिडिया र राजनीति दलले पूर्वाग्रह राखेको उल्लेख गरे ।
उनले संसद्ले आफूविरूद्ध लगाएको महाभियोग निष्क्रिय भएको बताउँदै संसद्ले बोलाएपछि सम्मानका लागि बैठकमा आएको बताए । उनले आफूले विधि पद्धति अनुसार काम गर्दा मिडिया र राजनीतिक दलले आफू अनुकूल हुन दबाब सिर्जना गरेको र आफू त्यस्तो दबाबमा काम गर्न नसक्ने भन्दै समितिलाई न्याय दिन आग्रह गरे ।
महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्ने भएको छ । जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ । महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिएको हो । समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको थियो ।
राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधि सभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यतिबेलै महाभियोग सिफारिस समिति गठन भएको भए पनि अन्य प्रक्रिया अगाडि बढेका थिएन। साउनमा सो प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाइएपछि छानबिन अगाडि बढेको हो।
नेपालको संविधानको धारा १०१ (२) मा संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालना नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा महाभियोग प्रस्ताव पेस गर्न सकिने र त्यो प्रतिनिधि सभाको तत्काल कायम सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा प्रधानन्यायाधीश पदमुक्त हुने उल्लेख छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ