सोमवार, अशोज १०, २०७९

चितवनमा जापनिज इन्सेफ्लाइटिसको महामारी


कान्तिपथ



चितवन, २१ भदौ : जिल्लामा जापानीज इन्सेफ्लाइटिसको महामारी देखिएको छ । बाइसजना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाले यसरी जापानीज इन्सेपफ्लाइटिसको बिरामी देखिनुलाई महामारी भन्ने गर्दछ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा– १२ जनाको परीक्षणमा चार जनामा, माडीमा पाँच जनाको परीक्षणमा दुई जनामा, राप्तीमा दुई जनाको परीक्षणमा एक जनामा, कालिका नगरपालिकामा एक जनाको परीक्षणमा एकैजनामै र रत्ननगरमा दुई जनाको परीक्षणमा एक जनामा सङ्क्रमण देखिएको हो । साउनको १५ गतेदेखि बिरामी देखिन थालेकोमा भदौ १८ गते यो सङ्ख्या बढेर नौ पुगेको हो । यहाँ परीक्षण गर्दा नमूनामा सङ्कास्पद देखिएपछि नमूनालाई काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

कार्यालयका प्रमुख दुर्गादत्त चापागार्इंका अनुसार सङ्क्रमितमध्ये जटिल अवस्थाका दुई जनाको भरतपुर अस्पतालको सघन उपचार उपचार भइरहेको छ । माडीमा एक वृद्ध नागरिक अर्धचेत अवस्थामा रहेका छन् । अन्यको अवस्थाको बारेमा जानकारी लिने काम भइरहेको भए पनि अहिलेसम्म रोगका कारण मृत्यु हुन नपाएको उहाँले जानकारी दिनुभयो । जिल्लामा यो रोगले महामारीको रुप लिएको सम्भवतः पहिलो भएको प्रमुख चापागार्इंले बताउनुभयो । हाल उक्त रोग देखिएका चार पुरुष र पाँच महिला छन् । उनीहरु २९ वर्ष उमेरदेखि ७५ वर्षसम्मका छन् । देशभर सङ्क्रमितको सङ्ख्या ४५ छ । उहाँका अनुसार बागमती प्रदेशमा यो सङ्ख्या १८ पुगेकामा नौ जना चितवनमा देखिएको हो ।

सन् २०२० र २०२१ मा जिल्लामा यो सङ्ख्या एक एक जना थियो । सन् २०१९ मा जिल्लामा यो सङ्ख्या शून्य थियो । सन् २०१८ मा एक जनामा सङ्क्रमण देखिएको थियो । प्रमुख चापागार्इंले भन्नुभयो, “सम्भवत जिल्लामा यसरी महामारीको रुपमा बढेको पहिलो हो ।” सन् २०१८ मा देखिएका बिरामी १५ वर्ष मुनिका थिए भने त्यसपछिका सबै १५ वर्षभन्दा माथिका हुन् । विश्व स्वास्थ्य सङ्गठनले एउटा जापानीज इन्सेफ्लाइटिसको बिरामी देखिँदा तीन सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ ।

यसलाई हेर्दा चितवनमा दुई हजार सात सय जनामा सङक्रमण हुनसक्ने भन्दै सतर्कता अपनाइएको उहाँको भनाइ थियो । स्वास्थ्य सङ्गठनले कुनै निश्चित भूगोल, समुदाय र समयमा अनुमानितभन्दा बढी जापानीज इन्सेफ्लाइटिसका बिरामी देखिएमा त्यसलाई महामारी भन्ने गरेको छ ।

नेपालको इतिहासमा सन् १९७८ मा रुपन्देही जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो । सन् २००४ मा देशव्यापी रुपमा खोजपडताल अभियान गरिएको थियो । सन् २००६, सन् २०११ र २०१६ मा राष्ट्रिय रुपमा अभियानको रुपमा जनचेतनामूलक कार्यक्रम (क्याम्पियन) गरिएको थियो । सन् २००९ देखि नियमित रुपमा १२ महिना पुगेका बालबालिकालाई खोप लगाइँदै आइएको छ । रोग देखिएका बिरामीमध्ये एक तिहाईको निको हुने, एक तिहाई अपाङ्ग हुने र एक तिहाइको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनको प्रक्षेपण छ ।यो रोग अप्रिल÷मे देखि सेप्टेम्बर÷अक्टुबरसम्म देखिने गर्दछ । भरतपुर अस्पतालका प्रवक्ता फिजिसयन डा गोविन्द कँडेलले सुङ्गुर र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्ने बताउनुभयो । मानिसबाट मानिसमा यो रोग सर्दैन ।

अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झै शरीरमा कम्पन आउने उहाँले जानकारी दिनुभयो । क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने चितवन स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो । उहाँले ग्रामीण क्षेत्रमा सुङ्गुर, बङ्गुर र हाँस पालिएको ठाउँ वरिपरी रहँदा विशेष ख्याल गर्न र रोगको आशङ्का भएमा तत्काल उपचार गर्न आग्रह गर्नुभयो ।
कार्यालयले बिरामीको सङ्ख्या एकाएक बढेपछि अस्पताल र पालिकाका स्वास्थ्य प्रमुखसँग आज छलफल गरी तत्काल तथ्याङ्क कार्यालयमा पठाउने व्यवस्था मिलाउन र आशङ्का देखिएका बिरामीलाई उपचारको प्रबन्ध मिलाउने विषयमा छलफल गरेको छ । सो अवसरमा विश्वस्वास्थ्य सङ्गठनका यस क्षेत्रमा कार्यरत कर्मचारीको पनि उपस्थिति थियो । स्वास्थ्य सङ्गठनले पछिल्ला दिनमा रोग देखिएका बिरामी र तीनका परिवारलाई भेटघाट गरी अवस्था बारेमा बुझ्ने काम गरिरहेको छ ।

जापानीज इन्सेपफ्लाइटिसबाट बच्नका लागि लामुखट्टको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै मुख्य उपाय हो । त्यसैगरी बालबालिकालाई यो रोगविरुद्ध खोप लगाउने, सुङ्गुर, बङ्गुर, हाँस, घोडाजस्ता घरपालुवा जनावरलाई व्यस्थित ढङ्गले पाल्ने, पशुपक्षीको खोर घरभन्दा टाढा राख्ने र सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनोजाली हाल्ने गर्नुपर्छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत