शुक्रबार, चैत्र २७, २०८२

तिहारमा कुमालेलाई पाला बनाउन र बेच्न भ्याई नभ्याई


कान्तिपथ


भक्तपुर । तिहार सुरुसँगै भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर तिहारका लागि चाहिने माटाका पाला बनाउन र बेच्न भ्याई नभ्याई भएको छ ।
माग अनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सुर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचो, लगायतका क्षेत्रका प्रजापतिहरुलाई भ्याई नभ्याई भएको हो ।
भक्तपुर र मध्यपुर थिमिमा उत्पादन भएको पाला भक्तपुर, काठमाडौँ, पोखरा, नुवाकोट, नेपालगञ्ज, भैरहवा, काभ्रे, जिरी, दोलखा लगायतका विभिन्न जिल्लामा खपत हुने गरेको छ ।
हरेक बर्ष व्यापारीले तिहार अघि नै आएर अर्डर दिएर गएका पाला बनाउने र आफूले खुद्रा बिक्री गर्न पनि पाला बनाउने गरेका छन् । अर्डर अनुसारको पाला, धूपौरो दही राख्ने ठेकी बनाउन पनि भ्याई नभ्याई भएको भक्तपुर नगरपालिका १२ पोटरीस्क्वायरका राजेश प्रजापतिले बताउनुभयो ।

अन्य समयमा माटाका भाँडाहरू फाटफुट बिक्री हुने गरेको भए पनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको छ । पाला बनाउने प्रजापतिको सङ्ख्या घटेपछि पेशा अङ्गाल्दै आएकाहरूलाई भने पाला बनाउन भ्याई नभ्याई भएको हो ।
पछिल्लो समय तिहारमा बत्ती बाल्नकै लागि विद्युत् बत्तीको माग समेत उच्च हुने गरेको छ तर तिहारमा बिजुलीका रङ्गीचङ्गी बत्ती बालेर झिलिमिली पार्ने गरेपनि अनिवार्य रुपमा दियो पनि बाल्नुपर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायीहरू बताउँछन् ।
केही वर्षअघि मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती बिस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पाला व्यापारी रामप्रसाद प्रजापति बताउनुहुन्छ ।
विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षा, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग बढेको हो ।
कुमालेहरूले तयार भएको पाला होलसेल व्यापारीहरूलाई बिक्री गरिन्छ । होलसेल व्यापारीहरूले पाला हजारौँको सङ्ख्यामा खरिद गर्ने र उनीहरूले केही मुनाफा खाएर काठमाण्डौं उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्ताहरू माझ पुर्‍याउने गरेको रामप्रसादले बताउनुभयो ।
कोरोना संक्रमण, माटोको अभाव र प्लाष्टिकका भाँडाको बढ्दो प्रयोगका कारण यो पेशा सङ्कटमा परेको कुमालेहरूले गुनासो गरेका छन् ।
भक्तपुर र थिमीमा झण्डै तीन सयभन्दा बढी घरपरिवार कुमाले माटोको भाडा बनाउँदै आएकोमा अहिले विस्थापित हुँदै करिब १५० घरपरिवारमा सीमित भएका छन् ।
विश्व मै चर्चामा रहेको र नेपाल आउने पर्यटकको आकर्षणको केन्द्र रहेको छ कुमालेको माटोको भाडा बनाउने पेशा । तिहारको अवसरमा मैन बाल्ने प्रचलन व्यापक भएपनि विगतका केही वर्ष यता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रम पनि बढेको छ । सुरक्षाको दृष्टिकोणले समेत पाला उत्तम मानिने गरिन्छ ।
गएको वर्षको तुलनामा यस वर्ष पालाको माग धेरै भएकाले प्रजापति समुदायलाई फुर्सद छैन । परम्परागत रुपमा बनाइने माटोका भाँडा पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने गर्छन् । काठमाडाँै उपत्यकासहित उपत्यका बाहिरका विभिन्न स्थानबाट लाखौँ माटोका सामग्रीहरूको माग आएपछि त्यो समुदायलाई अहिले भ्याइनभ्याइ भएको हो ।
माटाको भाँडाको माग घटेको भन्दा पनि माटो नपाउने समस्या ठूलो भएको कुमालेहरू बताउँछन् । माटोका पालाको माग भक्तपुरमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत बढेकाले पाला बनाउन भ्याइनभ्याइ भएको उनीहरू बताउँछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत