पाल्पा । पाल्पा सत्यवती मन्दिरमा चिच्याएर बर माग्ने मेला यही कात्तिक १८ गतेदेखि २२ गतेसम्म लाग्ने भएको छ । कार्तिक १८ गते एकादशीबाट २२ गते पूर्णिमासम्म दर्शन गर्ने राम्रो समय परेको सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो ।
धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकल अनुसार पूजा गर्न आउनेको घुइँचो लाग्दछ ।
यस बर्ष डेढ लाख दर्शनार्थी आउने र सो अवधिमा ६ लाख रुपैयाँ भेटी उठ्ने अनुमान गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष दान बहादुर गाहाले बताउनुभयो । खासगरी रातिको समयमा मेला लाग्ने र चिच्याएर बर माग्ने मेलाको रुपमा परिचित सत्यवती बज्यै मेला परिचित छ । सत्यवती बज्यै बुढी भएकी र कानले समेत कम सुन्छिन् भन्ने मान्यताका आधारमा चिच्याएर बर माग्ने प्रचलन रहँदै आएको छ । जिल्लाको गहनाका रुपमा स्थापित सत्यवती मन्दिरले देशभित्रमात्र नभई छिमेकी भारतमा समेत ख्याति कमाएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो ।
किंवदन्ती अनुसार वर्षौँ पहिले एक जना स्थानीय केटो सोही सत्यवती ताल वरपर खेल्दै रहेछ । बिहान पख सोही स्थानमा एक्कासी सत्यवती बज्यै प्रकट भइछन् । एकाबिहानै कहिल्यै नदेखेकी बुढी आइमाई देखेपछि केटो डराएछ र अत्तालिएछ । पछि सत्यवती बज्यैले केटोलाई नआत्तिनु भन्दै अगाडि भनिछिन् “म सत्यवती बज्यै हुँ प्रत्येक वर्ष यसै समयमा म यही स्थानमा आउनेछु । तिमी र मेरो यसरी भेट भएको भन्ने कुरा कसैलाई नबताउनु यदि तिमीले मैले भनेको मान्यौ भने तिमीले आटेका जति सबै इच्छा मैले पूरा गरिदिनेछु । यदि झुक्किएर पनि कसैलाई यो कुरा बतायौं भने तिम्रो मृत्यु हुनेछ ।”
पछि सोही केटोले सत्यवती बज्यैसँगको भेटको कुरा घरमा पुगेर बेलिबिस्तार लगाएछ र लगत्तै उक्त केटोको मृत्यु भएछ । यही किंवदन्तीको आधारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन सोही स्थानमा मेला लाग्दै आएको छ । खासगरि पहिले बर मागेर आफ्नो भाकल पूरा भएकाहरूले खुसीयालीमा पाठो, कुखुरो काट्ने र परेवा उडाउने प्रचलन छ भने नयाँ बर माग्नेहरूले सत्यवती ताल परिक्रमा गर्दै चिच्याएर बर माग्ने प्रचलन रहँदै आएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ