बुधबार, चैत्र २५, २०८२

सिक्लेसमा नमूना केबलकार निमार्ण हुने


कान्तिपथ


७ अर्ब लगानी, ५० जनालाई रोजगारी

कास्की । पर्यटकीय स्थल सिक्लेसमा केबलकार निमार्ण हुने भएको छ । सिक्लेस अन्नपूर्ण केबलकार प्रालिले कास्कीको मादी गाउँपालिका सिक्लेसमा केबलकार बनाउने प्रक्रिया अगाडी बढाएको हो ।

कम्पनीले परियोजनाको वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । प्रतिवेदनअनुसार परियोजना मादी गाउँपालिकाको वडा नं १ र २ मा केबलकार रहने छ ।

केबलकारको प्रस्थान विन्दु मादी गाउँपालिका १ र माथिल्लो स्टेसन सोही गाउँपालिकाको वडा नं २ मा रहने कम्पनीले जनाएको छ ।

निमार्ण हुने केबलकार ६.४१ किलोमिटर लामो रहने समेत परियोजनाले जनाएको छ । परियोजनाको कुल लागत ६ अर्ब ९० करोड ३७ लाख १८ हजार २४४ रुपैयाँ अनुमान गरिएको छ । आयोजना २७ं९९ हेक्टर क्षेत्रफलमा फैलने छ । यो केबलकार सञ्चालन अवधि ३० वर्ष तोकिएको छ ।

आयोजनाका लागि कुल ३८०१ वटा रुख र पोल काट्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । यो केबलकारमा नेपालमा अहिले सञ्चालित केबलकार भन्दा फरक बीचमा समेत स्टेसन रहने भएको छ ।

केबलकारमा कुल ६० वटा बक्स (गोण्डुला) रहने गरी परियोजनाको डिजाइन गरिएको छ । एउटा बक्समा ८ जनाले एक पटकमा यात्रा गर्न सक्ने छन् ।

प्रतिदिन ६ हजार जना (अधिकतमले यात्रा गर्न सक्ने) क्षमताको केबलकार बन्ने समेत कम्पनीले जनाएको छ । केबलकारमा कुल ३० वटा टावर रहने भएका छन् ।

आयोजना करिब साँढे ३ वर्षमा निर्माण गरिसक्ने लक्ष्य कम्पनीको छ । यो परियोजनाबाट ५० जनालाई प्रत्यक्ष रोजगारी मिल्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यो परियोजना सञ्चालनमा आएपछि सिक्लेस क्षेत्र, गण्डकी प्रदेश र राष्ट्रलाई नै पर्यटनमार्फत लाभ पुग्ने दाबी गरेको छ । आयोजना सञ्चालनमा आएपछि पोखराबाट नजिकका सिक्लेस, कोरी डाँडा र अन्य क्षेत्र कापुचे तालु, मनाङ र लमजुङका पर्यटकीय क्षेत्रको समेत प्रवद्र्धन हुने आयोजनाको भनाइ छ । सिक्लेस गुरुङ जातिको बाहुल्य रहेको पर्यटकीय गाउँ हो ।

वातावरणमैत्री प्रविधिको यातायात सेवाले अन्नपूर्ण क्षेत्रको वातावरणीय संरक्षणमा समेत सहयोग पुग्ने आयोजनाले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत