बुधबार, चैत्र २५, २०८२

मल्लाजमा सडक स्तरोन्नतिका तीन आयोजना सुरु


कान्तिपथ


म्याग्दी I म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिकाको मल्लाजमा सडक स्तरोन्नतिका लागि तीन वटा आयोजना सुरु भएका छन् । जलजलाको २, ३ र ४ नं वडामा पर्ने मल्लाजका सडक स्तरोन्नतिका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत रु ५० करोड बजेटका आयोजना सञ्चालन भएका हुन् । 

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मल्लाजलाई सहर उन्मुख बस्तीको रुपमा विकास गर्ने उद्देश्यले सडक, अस्पताल भवनलगायत पूर्वाधारका आयोजना सुरु गरिएको बताउनुभयो । 

“वारीबेनी मल्लाज सडक गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति गर्न लागिएको हो,” उहाँले भन्नुभयो “भुरतुलादेखि मल्लाज हुँदै लेकफाँट जोड्ने सडक सङ्घीय सरकारको सडक डिभिजन र फड्के ढुङ्गाको दोवदोवेदेखि मल्लाजसम्म सडक सहरी विकास कार्यालयमार्फत स्तरोन्नति सुरु भएको छ ।” 

वारीबेनी-मल्लाज सडकको ग्रेड र घुम्ती सुधार, ढलान, नाली, ग्याबिन र मेसिनरी पर्खाल निर्माण गर्न प्रदेश सरकारले रु एक करोड र जलजला गाउँपालिकाले रु एक करोड बजेट विनियोजन गरेका थिए । 

कालिका इन्फ्रास्टक्चर प्रालिले ठेक्का पाएको यो सडक दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको गाउँपालिका अध्यक्ष आचार्यको भनाइ छ । सङ्घीय सरकारको रणनीतिक महत्त्वका सडक कार्यक्रममार्फत मल्लाज(लेकफाँट सडक स्तरोन्नतिका लागि रु ३७ करोडमा ठेक्का पाएको रायमाझी कन्ट्रक्सन प्रालिले प्रारम्भिक चरणको कामलाई तीव्रता दिएको जलजला–३ का वडाध्यक्ष एकेन्द्र खत्रीले बताउनुभयो । 

मल्लाजको भुरतुलाको डिलदेखि लेकफाँटसम्म करिब १० किलोमिटर सडक सात मिटर चौडाइका दरले कालोपत्रे र ढलानका साथै नाली, पर्खाल निर्माण गर्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने काम भइरहेको वडाध्यक्ष खत्रीले बताउनुभयो । कूल ३३ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको यो सडकमा अहिले पाँच वटा डोजर र करिब एक सय जना मजदुरले काम गरिरहेका छन् । 

यसैगरी सहरी विकास कार्यालय बागलुङमार्फत दोवदोवेदेखि मल्लाज हुँदै बाँसखर्कको सिमानासम्मको पाँच किलोमिटर सडक स्तरोन्नति गर्न ठेक्का पाएको निर्माण कम्पनीले पनि सडक विस्तारको प्रारम्भिक चरणको काम थालेको छ । 

यो सडकमा पाँच मिटर चौडाइका दरले कालोपत्रे गरिनेछ । मल्लाजमै रु १२ करोडको लागतमा पाँच शय्या क्षमताको अस्पताल भवन पनि निर्माणको काम धमाधम भइरहेको छ । सडक स्तरोन्नति तथा अस्पताल सञ्चालन भएपछि आवतजावत सहज र सुरक्षित हुने, बसाइँसराइ रोकिने, आयआर्जन र रोजगारीको अवसर बढ्ने अपेक्षा गरिएको स्थानीयवासी नरेन्द्र थापाको भनाइ छ ।

मल्लाजमा एक घर एक धारासहितको खानेपानी र वृहत् सिँचाइ आयोजना यसअघिनै निर्माण भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत