कास्की । फेवातालमा माछा मारेर जीविकोपार्जन गर्दै आएका जलारी समुदायलाई माछा पाउन छाडेपछि दैनिकी गुजार्न समस्या परेको छ ।
कुनै बेला हर्पन खोलासम्म माछा मार्न जाने उनीहरुलाई ताल साँघुरिँदै जाँदा आफ्नो पुर्ख्यौली पेसा सङ्कटमा पर्ने चिन्ताले सताएको छ ।

फेवातालको सिरानसम्म हर्पन खोलाले स्वरूप परिवर्तन गर्दा माछाको सङ्ख्या घट्दै गएको छ । बाढी पहिरोले खोलाको स्वरूप परिवर्तन गरेसँगै खोलामा माछा पाउन छाडेपछि जलारी समुदायको पुर्ख्यौली पेसा धरापमा पर्न थालेको स्थानीय दिपा जलारी बताउनुहुन्छ, “तालमा बाँध राख्न कतैबाट पहल नहुँदा माछा बाँधबाट जाने गरेका छन् । कतैबाट पनि माछा जोगाउनेतिर ध्यान दिइएको छैन ।”

पछिल्लो समय फेवाताल आसपासमा जथाभाबी रुपमा सडक निर्माण कार्य तीव्र पारिएको छ । सडक निमार्णको प्रत्यक्ष असर स्थानीय जातका माछामा समेत पर्न थालेको छ । विगत ६ दशकयता ५० प्रतिशत तालको क्षेत्रफल घटेको छ । माटो र बालुवाले पुरिएसँगै जलकुम्भीले ताल भरिँदा स्थानीय प्रजातीका माछा लोप हुँदै गएको रामचन्द्र जलारी बताउनुहुन्छ ।

कुनै बेला एक पटकमा ५० किलो भन्दा बढी माछा मार्ने गरेका जलारी समुदायलाई अहिले मुस्किलले १० किलो पुर्याउन पनि धौधौ पर्न थालेको छ ।
पटक–पटकको चुनावमा जलारीको समस्या सम्बोधन गर्ने आश्वासन उनीहरूले पाए पनि समस्या भने ज्युँका त्युँ छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ