शुक्रबार, चैत्र २७, २०८२

बेमौसमी तरकारी खेतीका लागि सल्यानमा प्लाष्टिक घर


कान्तिपथ


सल्यान । सल्यानका किसान बेमौसमी तरकारी खेतीप्रति पछिल्लो समय आकर्षित भएका छन् । बेमौसमी तरकारी खेत गर्ने क्रम बढेपछि यहाँका दशवटै स्थानीय तहका किसानहरूका घरघरै प्लाष्टिक घर निर्माण भइरहेका छन् ।

हिउँदे मौसममा ताजा तरकारीको मूल्य राम्रो हुने भएकाले किसानले प्लाष्टिक घर निर्माण गरी उत्पादन गर्न थालेका छन् ।

जिल्लाको कपुरकोट गाउँपालिका ३ का कृषक थमन गिरीले ११ रोपनी जमिनमा ३६ वटा टनेल निर्माण गरेर तरकारी खेती गरी रहनुभएको छ । उहाँले बाहिर खेती गर्नु र टनेलभित्र खेती गर्नुमा धेरै फरक पर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘१९ वटा फलाम प्रयोग भएका र १७ वटा काठ प्रयोग भएका टनेलमा मैले तरकारी खेती गरिरहेको छु । टनेलभित्र तरकारीलाई झरी, असिना, घाम, हुरी बतासले असर नगर्ने र रोग किरा पनि नलाग्ने भएकाले अर्ग्यानिक उत्पादन हुन्छ’ ।

टनेलमा टमाटर, भेडे खुर्सानी, काँक्रा लगायतका तरकारी तथा फलफूल उत्पादन गर्न सकिने उहाँको भनाई छ । अहिले वार्षिक १० लाखसम्म आम्दानी गर्दै आउनु भएकाले थमनले वार्षिक ३० देखि ३२ लाख रुपैयाँ सम्म तरकारी खेतीबाट कमाई गर्ने लक्ष्य रहेको बताउनुभयो । गिरी कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यावसायिक तरकारी खेती गरिरहेका उनले घरपरिवारका सदस्य अलावा अन्य दुई जनालाई रोजगारी दिइरहनुभएको छ ।

यस्तै कपुरकोट ४ गाँडापानीका किसान किरण कठायतले पनि टमाटर, काउली, भेडे, आलु, बन्दा लगायतका तरकारी टनेलभित्र फलाउँदै आउनुभएको छ । इजरायल गएर तरकारी खेतीको अनुभव समेत सँगाल्नुभएका उहाँले त्यहाँको प्रविधिलाई पनि प्रयोग गरेर टनेलमा तरकारी खेती गरी रहनुभएको छ । उहाँले भन्नु भयो ‘टनेलमा खेती गर्दा स्वच्छ तरकारी उत्पादन हुन्छ । कम लागतमा धेरै उत्पादन हुन्छ । रोग किरासँगै पशु चौपायाले क्षति पनि गर्न सक्दैन ।’

व्यावसायिक रुपमा तरकारी तथा फलफूल खेती गर्न चाहने किसानहरूलाई सरकारी पक्ष तथा विभिन्न परियोजनाहरूबाट पनि सहयोग हुने गरेको छ । तरकारीको गुणस्तर र उत्पादकत्व पनि बढ्ने भएपछि जिल्लाको त्रिवेणी गाउँपालिकाले किसानहरूलाई टनेल निर्माणका लागि प्लाष्टिक सहयोग गर्दै आइरहेको छ ।

गाउँपालिकाको कृषि विकास शाखाका अनुसार पालिकाभरि करिब ५०० किसानले अहिले टनेलमा तरकारी खेती गरिरहेका छन् । टनेलभित्र उत्पादन गर्दा फाइदा बढी हुने भएपछि किसानहरू टनेलमा खेती गर्न आकर्षित भएको कृषि विकास शाखा प्रमुख अधिकृत छैटौँ लक्ष्मी चन्द बबालले बताउनुभयो ।

यस वर्ष पनि ४५ जना किसानलाई टनेल निर्माणका लागि प्लाष्टिक सहयोग गर्ने कार्यक्रम रहेको कृषि विकास शाखा प्रमुख बबालले जानकारी दिनुभयो ।

जिल्लाभर ३ हजार भन्दा बढी प्लाष्टिक घर रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत