बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • पर्यटन
  • रोल्पाको जलजला धार्मिक तथा पर्यापर्यटनको उत्कृष्ट गन्तव्य (फोटो फिचर)

रोल्पाको जलजला धार्मिक तथा पर्यापर्यटनको उत्कृष्ट गन्तव्य (फोटो फिचर)


कान्तिपथ


रोल्पा । समुद्री सतहबाट ३ हजार २ सय ९५ मिटर उचाइमा रहेको जलजला करिब ४७ हेक्टर क्षेत्रफलमा फैलिएको घाँसे मैदान क्षेत्रको रूपमा चिनिन्छ ।

जलजलाको पुरानो नाम ‘गामा’लेक हो । घाँसे मैदान, दलदले जमिन क्षेत्रमा पानी जम्ने र खुट्टाले टेकेपछि टेकेको ठाउँ वरपर जमिन हल्लिने भएकाले दलदलेबाट जलजला भएको हुनसक्ने स्थानीय जानकारहरू बताउँछन् ।

भामा गुफाबाट १२ भाइ बराह र २२ बहिनी बज्यू उत्पत्ति भई नेपालको विभिन्न स्थानमा गएर बसोबास गरेको भन्ने धार्मिक कथन अनुसार  भामा गुफालाई स्थानीयहरूले बराहको उत्पत्ति स्थल भनेर मान्ने गर्दछन् ।

जलजलामा अवस्थित बराह मन्दिर र भामा गुफा रोल्पाको मात्र नभई अन्य छिमेकी जिल्ला रुकुम, सल्यान, दाङ, प्युठान, बागलुङ, अर्घाखाँची, सुर्खेत बाँके, बर्दिया लगायतका जिल्लावासीहरूको आस्थाको केन्द्र मानिन्छ । 

वैशाख पूर्णिमा, जेठ पूर्णिमा र श्रावण पूर्णिमा गरी वर्षको तीन पटक बराह देवता पुज्ने मेला लाग्छ । श्रद्धालुहरूले सयौँ भेडा र कुखुराको बली दिने गर्दछन् । धार्मिक स्थलको पूजापाठ दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुने र सन्तानको लाभ हुने जनविश्वास रहिआएको छ भने मंसिर महिनामा कुल देवताको पूजा गर्दा बराह देवताको पनि पूजा गर्ने गरिन्छ । 

जलजलामा करिब १४ प्रजातीका गुराँस फुल्दा इन्द्रेणीझैँ वनपाखा देख्न सकिन्छ । हिउँदको समयमा जलजला क्षेत्रलाई हिउँले ढाकेर सेताम्मे बनाएको  हुन्छ । ३ हजार मिटर भन्दा उच्च स्थानका लेकहरूमा जेठ असारमा फुलिरहने फूललाई स्थानीयले चिमाली र बुकी फूल भन्दछन् । उच्च पहाडी क्षेत्रमा पाइने धेरै प्रकारका घाँसे प्रजातीका फूलहरू फुल्दा साउन–भदौ महिनामा यहाँका क्षेत्रहरू अत्यन्तै मनमोहक देखिन्छन् ।

जलजला क्षेत्रमा घोरल, थार, रतुवा, हरिण, बँदेल, चितुवा, भालु र दुर्लभ रेड पाण्डा लगायत जङ्गली जनावरहरू पाइन्छन् । जलजला क्षेत्र डाँफे, मुनाल, कालिजसहित सयौँ प्रकारका चराचुरुङ्गीहरूको बासस्थानको रूपमा पनि चिनिँदै आएको छ । 

सतुवा, पदमचाल, पाँचऔले, चिराइतो, सुनगाभा, सुगन्धवाल, सुनाखरी, समायो, चुत्रो, गरेली फूल, दालचिनी, तेजपात, बोजो, कचुर, पुदिना, टिमुर, सिल्टिमुर, धम्पे, सिङग्ली मिङग्ली, रुकन, ढुंगेफुल लगायतका जडीबुटी प्रशस्त पाइन्छ ।

सिस्ने पुथा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । जलजला क्षेत्रको जमिनबाट लगातार रूपमा रसाइरहने पानीको कारण त्यहाँको भू–भाग सिमसारमय छ । त्यसैले लुङ्ग्री, माडी र धाङसी खोलाबाट बग्ने पानी राप्ती नदीको उद्गम स्थल भनेर जलजलालाई मानिन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत