बुधबार, चैत्र २५, २०८२

चाबहिल-साँखु सडकमा पर्ने तीन पुल विस्तार सुरु


कान्तिपथ


काठमाडौँ । चारदेखि छ लेनमा विस्तार गरिएको चाबहिल-साँखु सडकखण्ड अन्तर्गत तीन वटा पुल विस्तार सुरु गरिएको छ । नारायणटारको बागमती पुलसँगै महादेव खोला पुल र मनोमता खोलामा पुल निर्माण गर्नका लागि प्रक्रिया अघि बढाइएको हो । 

अहिले यी पुल निर्माणका लागि सर्भे डिजाइन भइरहेको काठमाडौँ चक्रपथ सडक विस्तार योजनाले जनाएको छ । निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी (डिजाइन एण्ड बिल्ड) ठेक्कामार्फत निर्माण गर्न लागिएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो । सो पुल निर्माण सम्पन्न गर्न अवधि साढे दुई वर्ष छ ।

“सडक जति चौँडा छ पुल पनि त्यति नै फराकिलो बनाइनेछ”, उहाँले भन्नुभयो, “पुलको दायाँबायाँ दुई÷दुई लेनको पुल बनाइनेछ”, उहाँले भन्नुभयो । 

पुल निर्माण गर्न लागिएका तीन स्थानमध्ये सबैभन्दा बढी सवारी चाप नारायणटारको बागमती पुलमा एउटा पुल माथिल्लो पट्टी मात्र निर्माण गर्न लागिएको छ । “तलतिर घर भएकाले एकातिरबाट मात्रै बनाउन सकियो, दुवैतिर बनाउन सकिएन”, उहाँले भन्नुभयो । 

पहिले २२ मिटर चौडाइमा कालोपत्र गर्ने गरी ठेक्का भएको चाबहिल साँखु सडक कतै त्यही चौडाइमा त धेरै स्थानमा त्योभन्दा कम चौडाइमा कालोपत्र भएको छ । अरू सबै ठाउँमा कालोपत्र हुँदा पनि थली सडक हुनसकेको थिएन । गत साता सो स्थानमा समेत कालोपत्र भएको छ । 

सडक विस्तार सुरु भएको झण्डै सात वर्षपछि अहिले सम्पन्न हुने क्रममा छ । सडक विस्तार हुँदा आफ्नो घरजग्गा मासिने भएकाले स्थानीयहरू मुआब्जा पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म पुगेका थिए । 

सरकारले तीन वर्षअघि नै विस्तारका क्रममा रहेका उपत्यकाका सडक यथास्थितिमै कालोपत्र गर्ने निर्णय गरेको थियो । 

यसबीचमा मन्त्री, सांसद र शीर्ष नेताले सडकको पटक(पटक अनुगमन गरिसकेका छन् । पछिल्लो पटक नवनिर्वाचित सांसद सोविता गौतमले पनि आयोजना र स्थानीयसँग छलफल गरेर सडक निर्माण चाँडो सम्पन्न गर्न पहल गर्नुभएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत