शुक्रबार, जेष्ठ १, २०८३

पुसको जाडोमा नेपथ्यको न्यानो माया


कान्तिपथ


काठमाडौँ I पुसको जाडोमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्य ब्यान्डले गए राति ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौँका दर्शकलाई आफ्नो साङ्गीतिक प्रस्तुतिले ततायो । मानवता प्रवद्र्धनका लागि महिना व्यापी चलेको ‘नेपथ्य लाइभ कन्सर्ट’अन्तर्गत काठमाडौँको यो यसपालिको अन्तिम वा १०औँ सङ्गीत यात्रा थियो । 

देश दौडाहाका क्रममा जिल्लाका नौवटा कार्यक्रम सकेर काठमाडौँ भित्रिएको नेपथ्यले भृकुटीमण्डपमा झण्डै पाँच हजार सङ्गीत पारखीलाई मज्जाले झुमायो । नेपथ्यका नायक एवं मुख्य गायक अमृत गुरुङले दर्शकले भरिएको भृकुटीमण्डपमा राष्ट्रिय भावनाले ओतप्रोत तथा सदाबहार पुराना र चर्चित लोक पप गीत प्रस्तुत गर्नुभयो । उहाँ सङ्गीतको दुनियाँमा छुट्टै ब्यान्ड लोक पप सङ्गीतका साथ दर्शकसामु ३३ वर्षदेखि सक्रिय हुनुहुन्छ । देश–विदेशमा नेपथ्यको छुट्टै चाम छ ।

चिसो मौसममा प्रस्तुत उहाँका गीतमा दर्शक धुलो उडाएरै नाचे । त्यसो त गुरुङको आफ्नो प्रस्तुति र हाउभाउ नै जुरुकजुरुक पार्ने खालको हुन्छ । आफ्नै सङ्गीतमा गायक आफैँ चुर्लुम्म डुबेपछि दर्शकले भरपुर साथ  दिए । दमदार प्रस्तुति भन्दै दर्शकले तारिफ गरे । दर्शकले गुरुङका हरेक गीत पुनः सुन्न चाहे ।

नेपथ्य ब्यान्डको प्रसुस्तीको मजा लिन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायत नेपाल सरकारका सचिव तथा उच्चपदस्थ सरकारी अधिकारी सरिक हुनुहुन्थ्यो । ओली र थापाले त कार्यक्रम अवधिभर साथ दिनुभयो ।

गायक गुरुङका भेडाको ऊनजस्तो, छेक्यो छेक्यो, उडायो रेलैले, जोमसोमे बजारमा, शिरफूल शिरैमा, यो जिन्दगी, गाउँ गाउँबाट उठलगायत गीतमा दर्शकलाई उचाल्यो । जिन्दगानी गाउँमा पृष्ठभूमिमा प्रस्तुत भएको आश्रममा आश्रित बेसहारा तथा असहायको तस्बिरले दर्शकलाई सोच्न बाध्य पा¥यो । शनिबार नै गायक गुरुङको जन्मदिन परेकाले दर्शक दीर्घाबाटै ‘ह्याप्पी बर्थडे’को शुभकामना लगायातर आइरह्यो । गायक गुरुङले शिर निहु¥याएर सबैलाई धन्यवाद दिनुभयो । गीतसङ्गीतको बीच–बीचमा सन्देशमूलक भावना व्यक्त गरी उहाँले सामाजिक सचेतना जगाउने काम पनि गर्नुभयो ।

कसैले नगरेको काम मानव सेवा आश्रमले गरेकाले आफ्नो तर्फबाट सक्दो सहयोग गरेर पुण्य कमाउन र मानव सेवा आश्रमले निर्माण गरिरहेको भवन ९मानवताको मन्दिर० मा सहयोग गर्न गायक गुरुङले मञ्चबाटै आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “मानवसेवाका लागि आश्रमलाई धन हुनेले धन दिउँ, नहुनेले श्रम दिउँ ।”

त्यसपछि उहाँले जोगले हुन्छ भेट, मैँ नाचे छमछमीपछि रेशम र तालको पानी गाउँमा दर्शकले थप मच्चीमच्ची नाचेर मनोरञ्जन लिए । प्यारापिटमा रहेका पूर्वप्रधानमन्त्रीसहितका अतिथिले तालीले साथ दिनुभयो । गायक गुरुङले बेला–बेलामा गायकी रोकेर उपस्थित राजनीतिज्ञलाई इङ्गित गर्दै अब देश विकासमा एकीकृत भएर लाग्न र विकासको मूल फुटाउन आग्रह गर्नुभयो । उहाँले मुलुकको विकास हामी आफैँले गर्ने हो भन्ने सन्देश पनि बाँड्नुभयो । गायक गुरुङले नेपालमा रोजगारी सिर्जना गरी विदेश जानबाट रोक्नका लागि पनि राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभयो ।

मानवता प्रवद्र्धनका लागि गत मङ्सिर १९ गते विराटनगरबाट सुरु भएको नेपथ्य सङ्गीत यात्राले पुस १६ गते शनिबार काठमाडौँमा आएर विट मा¥यो । यसअघि मङ्सिर १९ गते वीरगञ्ज, २२ गते हेटौँडा, २५ गते चितवन, २९ गते नेपालगञ्ज, पुस ३ गते धनगढी, ६ गते सुर्खेत, ९ गते बुटवल र पुस १२ गते पोखरामा नेपथ्य गुज्जिएको थियो । हरेक कार्यक्रममा कम्तीमा पाँच हजारदेखि आठ हजारसम्म दर्शक सहभागी भएका थिए । 

कार्यक्रम मानवता प्रवद्र्धनका साथै मानव सेवा आश्रममा आश्रितका लागि खाना, नाना र छाना जुटाउन, देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा अक्षयकोष निर्माणका लागि कोसेढुङ्गा हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । एक दशकअघि २०६९ सालमा स्थापना भएको उक्त आश्रममा हाल एक हजार छ सय सडक आश्रित व्यक्ति संरक्षित छन् । देशका १९ जिल्लामा २३ शाखामार्फत सेवा गर्दै आएको आश्रमले आगामी २०८२ सालसम्ममा मुलुकका सडकपेटीमा बेवारिसे व्यक्ति नरहने अवस्था सिर्जना गर्ने योजना अघि बढाएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत