शुक्रबार, फाल्गुन २, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • माओवादी सचिव देवेन्द्र पौडेलको सम्पति छानबिन गर्न माग गर्दै केन्द्रिय कार्यालयमा उजुरी !

माओवादी सचिव देवेन्द्र पौडेलको सम्पति छानबिन गर्न माग गर्दै केन्द्रिय कार्यालयमा उजुरी !


कान्तिपथ


नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव देवेन्द्र पौडेलको सम्पति छानबिनको माग गर्दै पार्टी केन्द्रिय कार्यालयमा उजुरी परेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरु छनोट गर्दा विचौलिया खटाएर रकम असुली गरेको भन्दै बाग्लुङ्ग कै एक कार्यकर्ताले कारबाही र सम्पति विवरण छानबिनको माग गर्दै केन्द्रिय अनुशासन आयोगमा उजुरी दिएका हुन् ।

पुस ११ गते सोमबार कान्तिपथले पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरु छनोट गर्दा विचौलिया खटाएर रकम असुली गरेको प्रमाणहरु सहित समाचार प्रकाशित गरेको थियो। संकलित प्रमाण अनुसार ठेकेदारहरुले सुदुरपश्चिम र कर्णालीका विद्यालयहरुलाई चार कोठे भवनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत बजेट व्यवस्थापन गर्ने भन्दै पौडेलले खटाएका विचौलिया, माओवादी (केन्द्र) निकट सहायक संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाईसियल) का केन्द्रिय सदस्य निरज शाह ठकुरीले पटक पटक पैसा उठाएका हुन् ।

सम्बन्धित समाचार : वाईसियलका बिचौलिया मार्फत शिक्षामन्त्रीले झ्वाम पारे ६३ लाख : क्वार्टरमा खसी भोज !

उजुरीमा पार्टीको अन्तरिम विधान २०७३ (पहिलो संसोधन २०७८ सहित) धारा १७ (५) ख मा उल्लेख भए अनुसार पार्टीका केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरूले पार्टी अनुशासन, निर्णय र निर्देशनको पालना गरे वा नगरेको अनुगमन गर्ने र गल्ती गर्नेमाथि अनुशासनको कारवाही गर्न र सम्बन्धित निकायलाई निर्देशन दिने अख्तियारी केन्द्रिय अनुशासन आयोगमा निहित रहेको हुँदा आवश्यक छानबिनका माग गरिएको छ।

उजुरीकर्ताले विधानको सोहि धाराको उपधारा (ग) अनुसार तोकिए बमोजिम पार्टी समितिका पदाधिकारी एवम् सदस्यहरू र पार्टीका तर्फबाट जनप्रतिनिधिमुलक संस्था एवम् लाभको पदमा रहेर काम गर्ने पार्टी सदस्यहरूको नियुक्ति हुँदा, बहाल रहँदा र अवकाश पाउँदाको सम्पत्ति विवरण लिने, आवश्यकता अनुसार छानविन, अद्यावधिक र सार्वजनिक गर्ने अख्तियारी समेत अनुशासन आयोगमा निहित रहेको हुँदा आरोपी देवेन्द्र पौडेलको सम्पति छानबिनका लागि समेत माग गरेका छन्।

यता आफ्ना केन्द्रिय सदस्य भ्रष्ट्राचारमा मुछिए पनि वाईसियल भने मौन देखिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत