बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • यातायात
  • कोरला–त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्छ : मुख्यमन्त्री अधिकारी

कोरला–त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्छ : मुख्यमन्त्री अधिकारी


कान्तिपथ


म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्ने बताउनुभएको छ ।

बेनीमा आज सातौँ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको समापन गर्दै मुख्यमन्त्री अधिकारीले चीनको कोरला र भारतको त्रिवेणीलाई सडक र यातायात सञ्जालले जोड्न प्राथमिकता दिएको बताउनुभयो ।

“चीनको सिमाना कोरला र भारतको सिमाना त्रिवेणी नाकालाई सडक सञ्जालले जोडेर दुवै देशसँगको आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध विस्तारमा हाम्रो प्राथमिकता रहेको छ”, उहाँले भन्नुभयो, “कालीगण्डकी करिडोर सडक गण्डकी प्रदेशको लाइफ लाइन हो । यहाँको उत्पादन र खनिजजन्य वस्तुको अन्तर्राष्ट्रिय बजारका लागि दुवै नाका सञ्चालनमा हाम्रो जोड रहन्छ ।”

प्रकृति र संस्कृतिसँग सम्बन्ध कायम गरेर आर्थिक गतिविधिलाई अघि बढाउन मेला महोत्सव सहयोगी हुने बताउँदै मुख्यमन्त्री अधिकारीले धैर्य र साहसपूर्वक असहज अवस्थाको सामना गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

सङ्घीय संसद्ले आवश्यक छिटो ऐन, कानुन बनाएर प्रदेश र स्थानीय तहलाई काम गर्न सहज हुने वातावरण बनाइदिने मुख्यमन्त्री अधिकारीले अपेक्षा गर्नुभयो । उत्पादन वृद्धि र आत्मनिर्भरतामा सरकारको जोड रहेको बताउँदै उहाँले म्याग्दीमा बन्द रहेका स्लेट, तामा र खरिढुङ्गा खानी सञ्चालनका लागि आवश्यक ऐन, कानुन बनाउने प्रतिबद्धता जनाउनुभयो ।

पुस २८ गतेदेखि बेनीको खुलामञ्चमा सञ्चालन भएको महोत्सवमा दुई सय ६० व्यापारिक कक्ष राखिएका थिए । महोत्सवको अवसरमा पालिकास्तरीय महिला–पुरुष भलिबल, लोकदोहोरी, चेम्बर लोकतारा, पुरुष बास्केटबल, लठो तान्ने, रत्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता आयोजना गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत