दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले आयुर्वेद पूर्वीय सभ्यता मात्रै नभएर संसारकै साझा सम्पत्ति बनेको बताउनुभएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय शिक्षण अस्पतालको भवनको उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले हाम्रा मौलिक र स्वास्थ्य पद्धतिका रुपमा रहेका आयुर्वेद, योग, प्राणायाम, ध्यान र प्राकृतिक चिकित्साका साथै जनजातीय समुदायमा पाइने शारीरिक एवं मानसिक स्वास्थ्यसँग सम्बन्धित तर लोप हुन लागेका ज्ञानको खोजी र अनुसन्धानका लागि नेपाल संस्कृत विश्वविद्यालय क्रियाशील रहन आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले संस्कृत भाषा हाम्रो प्राचीन तथा मध्यकालीन युगमा लेखिएका ग्रन्थहरू रहेको उल्लेख गर्नुहुँदै संसारका लागि यो उपयोगी हुने बताउनुभयो ।

हिन्दु मात्रै नभएर बौद्ध तथा जयन संस्कारका लागि संस्कृत भाषामा लेखिएका ग्रन्थले ज्ञानको प्रवाह संसारभरि फैलाउने बताउनुभयो ।
कार्यक्रममा नेपाल सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शनको अध्ययन केन्द्रका रुपमा विकास गर्नुपर्ने उल्लेख गर्नुहुँदै यसलाई पूर्वीय दर्शनको अध्ययनको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री बिष्णु पन्थीले आयुर्वेद शिक्षण अस्पताल सञ्चालन गर्नका लागि प्रदेश सरकार समन्वय गर्न तयार रहेको बताउनुभयो ।
कोरोना महामारीको समयमा आयुर्वेद शिक्षण अस्पतालका लागि निर्माण गरिएको भवनमा कोरोना अस्पताल सञ्चालन गरेको उल्लेख गर्नुहुँदै स्वास्थ्य मन्त्री पन्थीले सहयोग र सञ्चालनका लागि प्रदेश सरकार तत्पर रहेको बताउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रकाश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा (एमबिबिएस) आयुर्वेद अध्ययन गर्ने विद्यार्थीले योगा तथा नृत्य प्रस्तुत गरेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ