चुनावमा पराजय ब्यहाेरेपछि दोलखा एमालेमा सुरु भएको विवाद क्लाईमेक्समा पुगेको छ । चुनाव लगत्तै अन्तर्घातका कारण चुनाव हारेको भन्दै विवाद सुरु भएको थियो । दोलखामा एमाले नेता बालकृष्ण शिवाकोटी माअोवादी केन्द्रका उम्मेदवार गंगा कार्कीसँग ३ सय १८ मतले पराजित भएका थिए ।
चुनावी नतिजालाई लिएर नैतिकता प्रदर्शन गर्दै राजिनामा दिएका जिल्ला सचिव हिरा थोकरलाई उल्टै जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले स्पष्टिकरण सोधेका थिए । स्पष्टिकरणको जवाफ दिंदै सचिव थोकरले अध्यक्ष श्रेष्ठसँग स्पष्टिकरण सोध्ने नैतिक धरातल समेत नरहेको भन्दै ‘बमबार्ड’ गरेका छन् ।
थोकरले आफु पार्टीको एउटा बफादार सिपाही भई २०४३ सालदेखि जीवनभर पार्टीका लागि जीवन मरणको सवाल नराखी अनवरत रुपमा लागि नै रहेको तर उसैमाथि निर्वाचनको परिणामलाई लिएर कुत्सित मनशायका साथ अनावश्यक आरोप लगाउँदा स्वभाविक रुपमै दुःख लागेको बताएका छन् ।
थोकरले राजिनामा दिन पनि आफुलाई श्रेष्ठले नै उक्साएको तर आफुले खुट्टा कमाएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘तपाईलाई याद छ होला मंसिर १९ गते मतगणना सकेपछि मैले तपाईलाई फोन गरेर निर्वाचन हारेकोमा पदाधिकारीले नैतिक जिम्मा लिनु पर्ला नि ? भन्दा तपाईले तपाई पनि राजीनामा दिनुस, म पनि दिन्छु भन्नु भएकोले मैले राजीनामा दिने घोषणा गरे तर तपाईले राजिनामा दिनु भएन । त्यसपछि मैले राजीनामा नगर्ने सोच बनाएँ ।
थोकरका अनुसार श्रेष्ठले २०७९/८/१ गते नेकपा माओवादी केन्द्रको नेता प्रेम लामा, छिरिङ थोकर र प्रखर थोकरलाई घरमा बोलाएर प्रदेश सभामा आफुलाई र प्रनिनिधि सभामा माओवादी उम्मेदवारलाई सघाउने सहमति गरी पैसा दिएर पठाएको र मतदानको दिन बुथ कब्जा गरी थप भोट हालेमा रु. ५ लाख थप दिने सहमति गरि नेकपा एमाले नेता विदुर शर्मालाई रु. ५ लाख पठाएको बताएका छन् ।’ बालकृष्ण शिवाकोटी हराउन श्रेष्ठले प्रमुख भूमिका खेलेको यसैबाट पुष्टि हुन्छ ।
श्रेष्ठले नेपाली काँग्रेसको नेता दिर्घलाल लामालाई घरमै बोलाएर पैसा दिएको कुरा पनि स्पष्टिकरणमा उठेको छ । थोकरले विपक्षी पार्टीका नेतासँग श्रेष्ठको उठबस र पार्टीद्वारा गठित हाईकमाण्डको औचित्यको बारेमा पनि प्रश्न गरेका छन् । थोकरले आफु पालिका अध्यक्ष भैरहदा श्रेष्ठ कै निर्देशनमा १० औ जना भन्दा बढीलाई खानेपानी पाइप वितरण गरिएको, कतिपयलाई योजनाको आश्वासन दिइएको, पार्टीको निर्वाचन सामग्री सम्बन्धित स्थानमा पुऱ्याउन पालिकाको सरकारी साधन व्यापक प्रयोग गरिएको पनि लेखेका छन्।
अध्यक्ष श्रेष्ठ विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थोकरले श्रेष्ठको गणितको ज्ञानमा पनि प्रश्न उठाएका छन्, उनी भन्छन, ‘लक्ष्मी मावि मतदान केन्द्रमा ८०% मत खसेको भन्ने तपाईको स्पष्टीकरण कपोकल्पित छ भन्ने कुराको पुष्टी यस कारण हुँछ की । त्यस मतदानकेन्द्रमा जम्मा मतदाता १९९१ रहेकोमा ९१२ मात्र मतदान भएको छ । यो मत कुल मतको ८०% कसरी भयो?’
२०७९/८/१८ गते राती चरिकोटको होटल गौरी होराइजनमा श्रेष्ठले एमालेका बागमती प्रदेश कमिटी सदस्य एवं दोलखा सह-इन्चार्ज डवल पाण्डेलाई गरेको कुराबाट माओवादीसँग साँठगाठ भएको कुरा पुष्टी हुने बताएका छन् । थोकरले संवेदनशिल मतदान केन्द्र वडा नं ५ को डाँडाखर्क मावि मतदान केन्द्रमा आफ्नै कारण नम्बर वडामा शान्तिपूर्वक मतदान भएको बताएका छन् साथै समकक्षीलाई मिथ्या आरोप लाएर राजनैतिक रुपमा सक्काउने षड्यन्त्र रचेको हो भन्दै प्रश्न गरेका छन् ?
थोकरले बताए अनुसार पार्टीको जिल्ला उपसचिव धर्मेन्द्र मोक्तानले आर्थिक विभाग प्रमुख मुरारी शिवाकोटीले निर्वाचन खर्च वापत मेलुङ गा.पा. कमिटी अध्यक्ष अम्बिका गोलेको नाममा जारी गरेको बैंक चेक खोसेर च्यात्ने काम गरेको, मुरारी शिवाकोटीमाथि हातपात गरेको, गाउँपालिकाको ७ वटै वडालाई रु ५० हजारको दरले दिने निर्वाचन खर्च वाहेक ३ लाख रकम धर्मेन्द्र मोक्तान आफैले राखेको, ९० हजार भाडामा लिएको गाडिको भाडा रु. १,८०,०००/- भनी अनियमितता गरेको, २०७४ सालको स्थानीय तहको निर्वाचनमा बैतेश्वर गा.पा.को आफ्नै पर्टीको उम्मेदवार ऋषीकेश उप्रेतीसँग १४ लाख रुपैया लिई असहयोग गरेको लगायत आर्थिक अपचलनका विषय उठाएका छन् ।
द्वन्दकालमा आफु गाउँमा पार्टी संगठन निर्माणको क्रममा माओवादीको अपहरण र कुटपिटबाट ३ वर्ष विस्थापित भएको तर श्रेष्ठ सदरमुकाम बसेर उही माओवादीलाई चन्दा दिँदै निजी शैक्षिक संस्था चलाएर बसेको, धर्मेन्द्र मोक्तान गैरीमुदीमा माओवादीलाई पैसा दिएर बोडिङ चलाएर बसेको स्पष्ट पारेका छन् । थोकरले श्रेष्ठलाई इतिहास कै असक्षम जिल्ला अध्यक्ष भनेका छन्, उनको कार्यकालमा दोश्रो झापा भनिएको दोलखा एमाले खुम्चिएको छ । ७८८७ मतान्तरले चुनाव हारेका श्रेष्ठ, सबैभन्दा धेरै मतान्तरले हार्ने एमाले उम्मेदवार मध्ये पर्छन ।
हेर्नुहोस जिल्ला सचिव थोकरको स्पष्टिकरण :





देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ