बुधबार, चैत्र २५, २०८२

पाँचवटा चिनियाँ जहाज बिक्री गर्दै निगम, आयो अमेरिकी टोली


कान्तिपथ


नेपाल वायुसेवा निगमले पाँचवटा चिनियाँ जहाज बिक्रीको तयारी सुरु गरेको छ। तीन वर्षयता ग्राउन्डेड चिनियाँ जहाज बिक्री मूल्याङ्कन गर्न आइतबार अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई जना प्रतिनिधि काठमाडौँ आइपुगेका छन्। 

निगमका प्रवक्ता अर्चना खड्काले प्रतिनिधिले सोमबारदेखि काम सुरु गरेर एक महिनाभित्रै मूल्याङ्कन गरिसक्ने बताए । कम्पनीका प्रतिनिधिले सोमबारदेखि काम सुरु गर्ने र मूल्याङ्कनसँगै बिक्री प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ।

उनले भने, “चिनियाँ जहाज बिक्रीका लागि दुईवटा एमए ६० र तीनवटा वाई १२ जहाज बिक्री गर्न मूल्याङ्कनका लागि गत मङ्सिरमै कम्पनी छनोटको टेन्डर आह्वान गरेको थियो। मूल्याङ्कनका लागि सर्ट लिस्टमा एभियन एसेट म्यानेजमेन्ट छनोट भएपछि २०७७ साउनदेखि ग्राउन्डेड जहाजको इन्टरनेसनल सोसाइटी अफ ट्रान्सपोर्ट एयरक्राफ्ट ट्रेडिङको मापदण्डभित्र रहेर पूर्ण मूल्याङ्कन हुन लागेको हो।” 

चीनबाट भित्र्याइएका यी जहाजले नाफा दिन नसकेपछि निगमले भाडामा लगाउने अथवा नेपाली सेनालाई स्काई ट्रक बनाउन दिने लगायतबारे सोच बनाए पनि जहाजमा कसैले रुचि नदेखाएपछि बेच्नका लागि मूल्याङ्कन प्रक्रिया सुरु गर्न लागिएको हो। जहाज भाडामा लगाउन निगमले दुई पटक बोलपत्र आह्वानसमेत गरेको थियो तर कसैको आवेदन परेन।

निगमले जहाज बिक्रीका लागि जहाज जे जस्तो अवस्थामा छ, सोही अवस्थामा मूल्याङ्कन गर्न लागेको प्रवक्ता खड्काको भनाइ छ। निगमले यही मूल्याङ्कनका आधारमा जहाज बिक्रीको टेन्डर गर्ने उनले बताए ।

Grounded Nepal Airlines Corporation’s aircraft are parked in the hangar of Tribhuvan International Airport for maintenance, in a picture taken on Monday, July 11, 2016. Photo: THT

जहाज ल्याउँदा नेपालले अनुदान र सफ्ट लोनमा गरी छ अर्ब ६७ करोड १० लाख रुपियाँ खर्च गरेको थियो। कुल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने तीन अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत ब्याजदरको ऋण थियो। 

छवटा चिनियाँ जहाजमध्ये एउटा एमआई ६० र एउटा वाई १२ जहाज चीन सरकारले अनुदानमा दिएको थियो। बाँकी चारवटा जहाज जीटुजी–मोडेल ९सरकारद्वारा सरकारसँग खरिद प्रणालीअन्तर्गत० चीनको एक्जिम बैङ्कको सहुलियतपूर्ण ऋणमा नेपाल सरकारले खरिद गरेको थियो। 

छवटा जहाजमध्ये एक वाई १२ नेपालगञ्जमा दुर्घटनामा परेको थियो। पाइलट अभाव, मर्मतसम्भार र पार्टपुर्जा अभाव, बढी इन्धन खपत र नाफा दिन नसकेको भन्दै निगमले विमान हटाउन लागेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत