शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • मिटरब्याजीलाई ‘फिल्ड’ मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल

मिटरब्याजीलाई ‘फिल्ड’ मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल


कान्तिपथ


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटर ब्याज पीडितको समस्यालाई स्थायी रूपमा हल गर्न सरकारले काम अघि बढाएको बताउनुभएको छ । 

आज बिहान मिटर ब्याज पीडितसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै उहाँले सामन्तवादको अवशेषका रूपमा रहेको मिटर ब्याजलाई सधैँका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताउनुभयो । 

मिटर ब्याजको दीर्घकालीन समाधानका लागि विद्यमान कानुन अपर्याप्त भएको भन्दै प्रधानमन्त्री दाहालले कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । “पीडितका समस्या समाधान गर्न न्यायिक अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठनको प्रक्रियासमेत अघि बढेको छ”, उहाँले बताउनुभयो । 

मिटर ब्याज समस्यालाई लिएर मन्त्रिपरिषद् बैठकबाट नै एउटा उच्चस्तरीय आयोग बनाई तत्काल ‘फिल्ड’मा गएर कारबाही गर्नसक्ने तथा न्यायिक अधिकार प्रयोग गर्नसक्ने आयोग बनाइने प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । “त्यो प्रक्रिया अघि बढिसकेको छ”, उहाँले भन्नुभयो, “यसअघि जस्तो आयोग बन्ने, प्रतिवेदन बुझाउने र त्यो थन्किने जस्तो होइन, यो आयोग ‘¥यापिड एक्सन फोर्स’ जस्तो गरेर जाओस्, त्यसले मान्छेलाई बोलाउने, पूर्जी काट्ने र कारबाही गर्ने खालको होस् भनेर निर्देशन दिएको छु ।”

मिटर ब्याज पीडितको समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पार्टी अध्यक्षको हैसियतमा रहेका बेला समेत मिटरब्याजीमाथि कारबाहीका लागि पहल गरेको बताउनुभयो । 

“म नेकपाको अध्यक्ष हुँदा मिटर ब्याज पीडितको समस्या विस्तृतमा सुनेको थिएँ । तीनवटै सुरक्षा अङ्ग र गृहमन्त्रीलाई बोलाएर मिटरब्जाजीको समस्या तुरुन्तै समाधान गर्न आग्रह  गरेको थिएँ । केही मान्छे त समातिए । त्यो बेला मिटरब्याजी भागाभाग पनि भए । तर यसको दिगो समाधान भने भएन । त्यो बेला अर्कै व्यक्ति प्रधानमन्त्री हुनुहुन्थ्यो । यो पटक म प्रधानमन्त्री छु । यसको दिगो समाधानमा मेरो ध्यान छ”, उहाँले भन्नुभयो । 

अहिले यो समस्या पूर्णरूपमा समाधान गर्न नसके यसले गम्भीर रूप लिने प्रधानमन्त्री दाहालको भनाइ थियो । “मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस्, उनीहरूमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको छ”, उहाँले भन्नुभयो, “अहिले यो समस्या समाधान नभए कहिल्यै हुन्न, त्यसैले यो समस्याको दीर्घकालीन समाधान अहिल्यै गर्नुपर्छ ।”

मिटर ब्याज पीडितले मार्च गर्दै राजधानी आएकामा समेत प्रधानमन्त्री दाहालले धन्यवाद दिनुभयो । “तपाईँहरू यसरी पैदल हिँडेर काठमाडौँ आउनुभयो । तपाईँहरूको समस्या राष्ट्रिय रूपमा सुनियो । अहिले पनि हाम्रो समाजमा यस्तो शोषण बाँकी नै छ भन्ने कुरा राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा समेत सबैले थाहा पाए । तपाईँहरूलाई धन्यवाद छ”, उहाँले भन्नुभयो, “मैले जिल्लाबाट हिँडेदेखि नै तपाईँहरूका बारेमा जानकारी लिइरहेको छु । तपाईँहरूलाई कहीँकतै अप्ठ्यारो नपर्न दिन गृहलाई निर्देशन पनि दिएको छु ।”

अहिले आफ्नै वर्ग र जनतासँग कुराकानी गरिरहेको अनुभूति भइरहेको भन्दै प्रधानमन्त्री दाहालले आफूले आश्वासन मात्र नदिएको स्पष्ट पार्नुभयो । “मलाई तपाईँहरूसँग कुरा गर्दा आफ्नै वर्गसँग कुराकानी गरिरहेको अनुभूति भइरहेको छ । मैले आश्वासन मात्रै दिइरहेको छैन । यो समस्या हल हुन्छ । तपाईँहरू आश्वस्त भएर मात्र घर फर्किनुहोला”, उहाँले भन्नुभयो । 

प्रधानमन्त्री दाहालसँग भेटका क्रममा पीडितहरूले उच्चस्तरीय आयोग गठन, कानुन निर्माण तथा पक्राउ पुर्जी जारी भएका र घरबार जफत भएका पीडितमाथि न्याय गर्न माग गरेका थिए। 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत