बुधबार, चैत्र २५, २०८२

बजेट अभावका कारण सल्यानका आधा दर्जनभन्दा बढी विद्यालय भवन अलपत्र 


कान्तिपथ


सल्यान । सल्यानका आधा दर्जनभन्दा बढी विद्यालय भवन वषौँदेखि अलपत्र परेका छन् । 

बजेट अभावमा निर्माणाधीन भवन अलपत्र भएका अधिकांश र्जीण हुँदै समेत जान थालेका छन् । 

जिल्लाको त्रिवेणी गाउँपालिका–१ काभ्रास्थित जनता माध्यमिक विद्यालयको चार गोठे भवन, दार्मा गाउँपालिकाको फारुला बहुमुखी क्याम्पस भवन, दार्मा १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय, ४ मा रहेको नव सर्वसाधारण आधारभूत विद्यालय र वडा न ५ मा रहेको लक्ष्मी आधारभूत विद्यालयको भवन वषौंदेखि अलपत्र परेका हुन । 

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट विनियोजित क्रमागत योजनाबाट निर्माण भएका दार्मा गाउँपालिको एक क्याम्पससहित तीन विद्यालय भवन अलपत्र अवस्था रहेका छन् । 

यस्तै, कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०६७/०७७ मा २५ लाख बजेट विनियोजन गरि निर्माण गरिएको चार कोठे भवन समेत अलपत्र परेको छ । आर्थिक वर्ष २०६७/०७७ को असार मसान्तसम्म सम्पन्न गर्नुपर्नेमा कोरोना महामारीका कारण ठेकेदार कम्पनीले तोकेको समयमा काम सम्पन्न गर्न नसकेपछि फिर्ता भएको बजेट पुनः नआउँदा निर्माणाधीन भवन अलपत्र परेको विद्यालयको प्रधानाध्यापक हिक्मत रोकाको भनाई छ । 

भवनको ६० प्रतिशत काम सम्पन्न भए पनि पुनः बजेटको व्यवस्था नहुँदा रोकिएको उहाँले बताउनुभयो । पालिकालाई भवन निर्माण सम्पन्न गर्न आग्रह गरेपछि चालु आर्थिक वर्षमा मर्मतका लागि ३ लाख बजेट विनियोजन भएको रोकाले बताउनुभयो । 

आर्थिक वर्ष २०७१/०७२ मा शान्ति तथा पुनः निर्माण मन्त्रालयबाट फारुला बहुमुखी क्याम्पसका लागि २४ लाख ७० हजारमा ११ लाख मात्र निकासा हुँदा २ कोठे क्याम्पस भवन अलपत्र परेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त प्रसाद शर्माले बताउनुभयो ।

निकासा भएको रकमबाट ४० प्रतिशतमात्र काम सकिए पनि अहिलेसम्म रकम अभावका कारण निर्माण सम्पन्न हुन नसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “विभिन्न निकायसँग भवन निर्माणका लागि पहल गरिए पनि कतैबाट पनि आर्थिक सहयोग पाउन सकिएको छैन ।”

यस्तै, शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाटै दार्मा गाउँपालिका–४ मा रहेको नव सर्वसाधारण आधारभूत विद्यालय र वडा न ५ मा रहेको लक्ष्मी निम्न माध्यमिक विद्यालय र वडा न १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको भवन पनि अलपत्र रहेका छन् । 

वडा न ४ मा रहेको नव सर्वसाधारण आधारभूत विद्यालयले अलपत्र परेको भवनमा कर्णाली प्रदेशबाट विनियोजित बजेटबाट काम सुरु गरे पनि अन्य विद्यालयको भवन भने अलपत्र नै रहेको दार्मा गाउँपालिका शिक्षा शाखा प्रमुख रोम प्रसाद पाण्डेयले बताउनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत