बुधबार, चैत्र २५, २०८२

सडक ऐनलाई संशोधन गरि समयानुकूल बनाइने 


कान्तिपथ


काठमाडौँ । सरकारले पुरानो सडक ऐनलाई संशोधन गरि समयानुकूल बनाउन लागेको जनाएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आज नेपाल पूर्वाधार पत्रकार समाजका पदाधिकारीसँगको छलफलमा तीनै तहको सरकारको समन्वयमा सरकारले सडकको वर्गीकरण गर्ने तयारी गरेको जानकारी दिनुहुँदै सडक ऐन संशोधन समयानुकूल बनाई सडक निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउन सरकार लागि परेको जानकारी दिनुभयो । 

सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) वितरण प्रणालीलाई छिटोछरितो बनाउने विकल्पहरूबारे सरोकारवाला निकायहरूसँग छलफल भइरहेको जानकारी दिनुहुँदै मन्त्री ज्वालाले अबको सात महिनापछि स्मार्ट लाइसेन्स लिन कसैले पनि लाइन बस्न नपर्ने स्पष्ट पार्नुभयो ।  

स्मार्ट लाइसेन्स प्रत्येक दश÷दश वर्षमा नवीकरण गर्ने गरी सरकारले निर्णय गरिसकेको जानकारी दिनुहुँदै मन्त्री ज्वालाले सरकार सवारी चालक अनुमति पत्रलाई सहज बनाउने काममा प्राथमिकताका साथ लागेको जानकारी गराउनुभयो । 

उहाँले राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्ने गरी निर्माण कम्पनीहरूलाई निर्देशन दिइसकिएको  र समयमा निर्माण सम्पन्न गर्न नसक्ने निर्माण कम्पनीसँग ठेक्का तोडी नयाँ कम्पनीलाई ठेक्का दिएर  भए पनि विकास निर्माणका ठूला आयोजनाहरू समयमै सम्पन्न गर्ने पनि जानकारी गराउनुभयो । 

छलफलमा मन्त्रालयका सचिव केशवकुमार शर्माले विकास निर्माणको आयोजनामा एकैचोटी लगानी गर्नुभन्दा आयोजना तयारीको चरण र कार्यान्वयनको चरण गरी वर्गीकरण गर्दा प्रभावकारी हुने बताउनुभयो । 

पूर्वाधार पत्रकार समाजले मन्त्री ज्वालालाई विकास निर्माण आयोजना सम्पन्न गर्ने सन्दर्भमा विभिन्न सुझाव पत्र पनि बुझाएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत