जुम्ला । कर्णाली प्रदेशका ८ जिल्लामा राष्ट्रिय प्रसारण लाइनको पुगेको छ ।
कर्णाली १० जिल्ला मध्ये हालसम्म ८ वटा जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएको हो । साविक कर्णालीको दुर्गम डोल्पा जिल्लामा प्रसारण लाइन पुगेसँगै कर्णाली प्रदेशका ८ जिल्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको हो ।
यस अघिनै कर्णालीका जुम्ला, कालिकोट, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिममा राष्ट्रिय लाइन पुगिसकेको छ ।
नेपाल विद्युत् प्राधिकरण रुकुम पश्चिमको मुसिकोट सब स्टेसनबाट आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइनको विस्तार कार्य सकेर विद्युत् पुर्याइएको छ ।
गएको बिहीबारदेखि डोल्पा सदरमुकाम दुनैलगायत आसपासका क्षेत्रका बिजुली बल्ने गरी विद्युत् प्रवाह सुरु भइसकेको छ । यसअघि स्थानीय लघु जलविद्युत आयोजनाकै भरमा बत्ती बालेका डोल्पालीले पनि अब राष्ट्रिय प्रसारण लाइनको बत्तीबाट विद्युतीय उपकरण सहज रुपमा चलाउनुका साथै दैनिकीमा समेत सहजता हुने आशा गरिएको छ ।
धेरै लामो प्रतीक्षापछि डोल्पामा राष्ट्रिय लाइन पुग्दा डोल्पाली नागरिक उत्साहित भएको स्थानीय टेक शाहीले बताउनुभयो । उहाँका अनुसार अब डोल्पामा ईलेक्टानिक व्यवसाय फस्टाउनुका साथै पठन पाटनमा सहजता, साना उद्योग धन्दा खोल्ने र झरो बाल्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाई छ ।
अब कर्णालीका मुगु र हुम्ला जिल्लामा मात्रै राष्ट्रिय प्रसारण लाइन पुग्न बाँकी छ । यद्यपि, मुगुमा आगामी असारभित्र राष्ट्रिय प्रसारण लाइन विस्तार हुने गरी काम तीव्र गतिमा भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्ष कर्णाली उत्सवमा आउँदा कर्णालीलाई विद्युतिकरण गर्न र राष्ट्रिय प्रशारणमा लाइनमा जोड पहिलो प्राथमिकता दिँदै आउनुभएको थियो । कर्णालीलगायत अन्य प्रदेशको विद्युतीकरणका लागि २८ अर्ब बजेट समेत विनियोजन भएको निर्देशक घिसिङले बताउनुभएको थियो । सोही अनुसार हाल द्रुत गतिमा विद्युत् विस्तारको काम भइरहेको छ ।
“डोल्पामा राष्ट्रिय ग्रिड पुगेको छ । मुगुमा असारभित्रमा पुग्नेछ, हुम्लाका लागि टेन्डरको प्रक्रिया पूरा गरी निर्माण व्यवसायी छनौट भइसकेको छ, अब छिट्टै काम सुरु हुने छ । डोल्पा सदरमुकाम र त्यस आसपासका क्षेत्रमा लघु जलविद्युत आयोजनामार्फत विद्युत् आपूर्ति हुँदै आएकोमा अब राष्ट्रिय ग्रिडमार्फत बत्ती बल्ने छ । साथै जिल्लाभरि विद्युत् सेवा विस्तार गर्न विद्युतीकरणको काम भइरहेको छ ।”, उहाँले भन्नुभयो ।
प्राधिकरणले डोल्पाको ठूलीभेरी नगरपालिकामा पर्ने जिल्ला सदरमुकाम दुनै र त्रिपुरासुन्दरी नगरपालिकाका क्षेत्रहरूमा २०० किलोवाट जडित क्षमताको जैरीगाड साना जलविद्युत गृहमार्फत विद्युत् आपूर्ति गरिरहेको छ ।
डोल्पामा प्राधिकरणका करिब १ हजार ७ सय ग्राहकहरू छन् । डोल्पाका अन्य क्षेत्रमा लघु जलविद्युत र सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति भइरहेको छ ।
प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) र युरोपेली लगानी बैङ्क (इआइबी) बाट करिब २२ करोड अमेरिकी डलर (करिब २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा विद्युतीकरण गरिरहेको छ ।
सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर यस क्षेत्रमा विद्युत्को पहुँच विस्तारमा खर्च भइरहेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।
डोल्पाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन जाजरकोटको कुदु सब स्टेसनबाट नलगाडको चौखाबजार हुँदै डोल्पास्थित त्रिपुराकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माण भइरहेको प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ