नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेका छन्।
सरकारबाट बाहिरिएपछि एमाले नयाँ गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार जसरी पनि ढाल्ने खेलमा लागेको बताइएको छ। सोही क्रममा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको ओली निकट स्रोतले बताएको छ।
एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आएपछि रास्वपा अध्यक्ष लामिछानेले मंगलबार जनमत पार्टीका अध्यक्ष सिके राउतसँग छलफल गरेका छन्।
प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनमत सरकारसँग असन्तुष्ट छ। एमाले, रास्वपा, जनमत, जसपासहितका दल मिलेर नयाँ गठबन्धन बनाउने र सरकारको नेतृत्व गर्ने गरी लामिछानेले छलफल अगाडि बढाएको बताइएको छ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनभित्र खासगरी नेकपा माओवादी केन्द्रको व्यवहारले आफ्नो पार्टी दुःखी भएको गुनासो गरेका छन्।
आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादी केन्द्रमा घमण्ड बढ्दै गएको आरोप लगाएका हुन्।
‘बजेटको बाँडफाँड गर्ने, अनि यो पार्टीको कुनै अस्तित्वै छैन भन्ने ठान्ने! खासगरी माओवादी पार्टीको व्यवहारबाट हाम्रा साथीहरू धेरै दुःखित हुनुहुन्छ’, अध्यक्ष नेपालले भने, ‘म भन्न चाहन्छु– दम्भ र घमण्डले रावण जन्मायो, दम्भ र घमण्डले अर्काे रावण जन्माउने काम नगर्नूस्। त्यसो हुनाले त्यो घमण्ड छोड्नूस्, समानताको व्यवहार गर्नूस्। मिलेर अगाडि बढ्नूस्।’
उनले थपे, ‘होइन भने एकचोटि एउटाले घमण्ड गर्यो, उसले लोप्पा खायो। अर्काेले फेरि घमण्ड गर्यो, उसले पनि लोप्पा खायो। अब तेस्रो घमण्ड गर्ने, कसको पालो छ, त्यो मात्रै बाँकी छ। थाहा होला नि– पहिले केपी ओलीले घमण्ड गरे, पछि शेरबहादुरजीले घमण्ड गरे, फेरि केपी ओलीले घमण्ड गरे, अब घमण्ड गर्ने पालो कसको छ, हेर्न बाँकी छ, त्यसैले घमण्ड नगर्नूस्।’
आफ्नो पार्टी सबै कम्युनिस्ट पार्टीलाई मिलाउन चाहिरहेको तर घमण्डी प्रवृत्तिले त्यो कुरामा बाधा पुग्ने उनले टिप्पणी गरे।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ