शुक्रबार, चैत्र २७, २०८२

ट्याक्टर छाडेर गोरु प्रयोगमा नै फर्कन थाले सिन्धुपाल्चोकका किसानहरू


कान्तिपथ


भौगोलिक विकटताका कारण सबै ठाउँमा ट्याक्टर लैजान झन्झटिलो हुने भएपछि आफ्ना खेतबारी जोत्नका लागि सिन्धुपाल्चोकका किसानहरूले गोरुकै प्रयोग गर्न थालेका छन् ।

गोरुप्रति किसानको आकर्षण बढ्न थालेसँगै स्थानीय सरकारले पनि ट्याक्टरको साटो गोरु नै अनुदानमा दिन थालेका हुन् ।

बाह्रबिसे नगरपालिकाले मात्र सातसय जना किसानलाई गोरु अनुदान दिएको नगरपालिकाले जनाएको छ । गोरु अनुदानसँगै गोरुको बिमा समेतको व्यवस्था गरिएको नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।

भौगोलिक अवस्थाका कारण सबै ठाउँमा ट्याक्टर लान र लैजान गाह्रो हुने मात्र हैन खेतबारी गहिरोसँग ट्याक्टरले नखन्ने र मर्मत गरिरहनु पर्ने, तेल प्रयोगका कारण महँगो हुने जस्ता समस्याका कारण आफूहरूले गोरुकै प्रयोग गर्न थालेको बाह्रबिसेका किसान हरिप्रसाद तिमल्सिना बताउनु हुन्छ । केही समय ट्याक्टरको प्रयोग गरेको र ट्याक्टर बिग्रन थालेपछि खेतबारीमा जोत्नमा नै समस्या आएको उहाँको भनाइ छ ।

राम्चेका किसान अटलबहादुर तामाङले भने ट्याक्टरको प्रयोग गर्दा उब्जनी नै कम भएको अनुभव सुनाउनु हुन्छ । गोरुले जोते जस्तै ट्याक्टरले राम्रो नजोत्ने हुँदा उब्जनी नै कम भएको उहाँको अनुभव छ । ट्याक्टर प्रयोग गर्न थालेपछि प्राङ्गारिक मलको पनि अभाव हुने भएकोले फेरि गोरुको प्रयोग गर्न थालेको उहाँ बताउनु हुन्छ ।

पहाडी जिल्ला सिन्धुपाल्चोकमा खेतबारीमा ट्याक्टर ढुवानी गर्न समस्या त छँदै छ । त्यसमाथि बिग्रिरहने र उब्जनी पनि कम हुने भएपछि ट्याक्टर प्रयोग गरिरहेका किसानहरू पनि पुन गोरु प्रयोगमा फर्कने क्रम बढ्दो छ

स्थानीय तहले पनि गोरु प्रयोग गर्ने किसानहरूलाई प्रोत्साहित गर्न अनुदानमा गोरुसँगै गोरु र हली दुवैको बिमा गरिदिएपछि किसानहरू भने उत्साहित भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत