दोलखा । छात्राहरूको आत्मबल र आत्मविश्वास बढाउँदै आफ्नो सुरक्षा आफै गर्न सक्ने बनाउन जिल्ला युवा समिति दोलखाले आत्मरक्षासम्बन्धी तालिम सञ्चालन गरेको छ ।
जिल्ला युवा समितिले दोलखाको बैतेश्वर गाउँपालिका–४ मा रहेको हनुमन्तेश्वर माध्यमिक विद्यालयमा दुई दिने आत्मरक्षासम्बन्धी तालिम सञ्चालन गरेको अध्यक्ष भरत रोन श्रेष्ठले बताउनुभयो ।

तालिममा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्ने ४० जना छात्राको सहभागिता रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुलाई आत्मरक्षाका विभिन्न तरिकाबारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान दिइएको समितिले जनाएको छ । प्रशिक्षक द्वय गायत्री शिवाकोटी र बिन्दा थापाले आत्मरक्षाका सैद्धान्तिक एवं व्यवहारिक पक्षबारे जानकारी गराउनुभएको थियो ।

बैतेश्वर गाउँपालिका–४ का वडाध्यक्ष कुमार चौलागाईले छात्राहरूलाई मानसिक एवं शारीरिक रुपमा सक्षम बनाउन तालिम निक्कै उपयोगी रहेको उल्लेख गर्नुहुँदै तालिम विद्यालय बाहिरका किशोरीहरूसम्म विस्तार गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ