मकवानपुर । बागमती प्रदेश सरकारले स्थानीय तहमा ११९ जना प्राविधिक स्वयंसेवक खटाएको छ । सामाजिक विकास मन्त्रालय अन्तरगतको प्रदेश युवा परिषद्को कार्यालयले राष्ट्रिय विकास स्वयंसेवक अन्तरगत स्थानीय तहहरूमा स्टाफ नर्स, कृषि तथा भेटिनरी प्राविधिक, ल्याब असिस्टेन्ट, अहेब, अनमी लगायतका ११९ जना प्राविधिक कर्मचारी खटाइएको हो ।
प्रदेश युवा परिषद्ले सार्वजनिक सूचना प्रकाशन गरेर आवेदन मागेका मध्ये छनौटमा परेका ११९ जना स्वयंसेवकलाई मङ्गलवार एक दिने अभिमुखीकरण गराएर काममा खटाइएको हो । एक हजार ५ सय जना मध्ये छनोटमा परेका ११९ जना प्राविधिकहरू अभिमुखीकरणसहित नियुक्त पत्र दिएर कार्यक्षेत्रमा खटाइएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो ।

राष्ट्रिय विकास स्वयंसेवक अन्तरगत ‘‘प्रदेश स्वयंसेवक बागमती’’ का विभिन्न तहका स्वयंसेवकहरूको अभिमुखी कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले यो सेवा गर्ने ठुलो अवसर रहेकाले काम गरेर देखाउन आग्रह गर्नुभयो । खटिएका स्थानीय तहमा राम्रो सेवा गरेर जनताको मन जित्नसमेत उहाँले आग्रह गर्नुभयो । दक्षताका आधारमा छनोट गरिएकाले त्यही अनुसार काम गर्नका लागि मन्त्री मुक्तानले निर्देशन दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव रामकृष्ण पुडासैनीले आफूले जानेका ज्ञान सीप विस्तार गर्न आग्रह गर्नुभयो । स्थानीय तहले पनि यहाँबाट छनौट भएका प्राविधिकबाट भरपुर फाइदा लिन सक्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईले युवाहरू प्रति धेरै आशा राखेर प्रदेश सरकारले कार्यक्रम ल्याएको भन्दै यसलाई जागिरको रुपमा नहेरी सेवाको भावना राखेर काम गर्न आग्रह गर्नुभयो । उहाँले यो आफ्नो क्षमता देखाउने अवसर समेत भएकाले कुनै पनि गुनासो नआउने गरी काम गर्नुपर्ने बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ