काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि नयाँ गन्तव्य मुलुकको खोजी गर्ने विषयमा छलफल शुरु गरेको छ ।
बोर्ड सचिवालय र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबिच आज भएको छलफलमा खाडी राष्ट्रमा केन्द्रित नेपाली श्रम शक्तिलाई युरोप लगायतका मुलुकमा विस्तार गर्नका लागि वैदेशिक रोजगार मेला आयोजना गर्नु उपर्युक्त हुने निष्कर्ष निकालिएको छ ।
बोर्ड सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले अन्तर्राष्ट्रिय श्रम बजारको अध्ययन गर्ने गराउने र नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजी गर्ने गराउने वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था बमोजिम अन्तर्राष्ट्रिय श्रम बजारको नयाँ गन्तव्य मुलुक खोजी गर्न लागिएको जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक डा. उप्रेतीले प्रति वर्ष झण्डै ५ लाखको हाराहारीमा नेपाली श्रम शक्ति वैदेशिक रोजगारीमा जाने गरेको वर्तमान अवस्थामा युरोप, क्यानडा लगायतका मुलुकमा रोजगारीको दायरा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।
बोर्ड सचिवालयका निर्देशक सीता दुवाडीले नेपाली श्रमिकका लागि श्रमको नयाँ क्षेत्र र मुलुकको खोजी भइरहेको जानकारी दिनुभयो ।
नयाँ क्षेत्र पहिचानका लागि युरोपियन मुलुकमा रहेका दूतावास, गैर आवासीय नेपाली र सरोकारवाला पक्षसँग छलफल गर्ने निर्देशक दुवाडीले बताउनुभयो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले परम्परागत रुपमा खाडी मुलुकमा जाने ८० प्रतिशत जनशक्तिलाई नयाँ गन्तव्य मुलुकमा सिफ्ट गर्न आवश्यक रहेको बताउनुभयो ।
पूर्वी युरोप लगायतका मुलुकमा ठूलो सङ्ख्यामा जान शुरु गरेका नेपाली श्रमिकलाई संस्थागत रूपले पठाउने सवालमा द्विपक्षीय सम्बन्ध विस्तारमा सरकारले जोड दिनुपर्ने धारणा राख्नुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ