बुधबार, बैशाख २, २०८३

बालकृष्ण पक्राउ परेपछि श्रीमती फरार


कान्तिपथ


पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको दुई दिन भएको छ। तर उनकी पत्नी मञ्जु खाँण अझै पनि उनलाई भेट्न पुगेकी छैनन्।

बालकृष्ण पक्राउ पुर्नअघि नै गायब भएकी उनी मोबाइल फोन बन्द गरेर सम्पर्कविहीन भएकी हुन्। नेपाली कांग्रेसकी समानुपातिक सांसदसमेत रहेकी उनी संसदमा जारी सरकारका सिद्धान्त तथा नीतिमाथिको बहसमा सहभागी हुन पनि गएकी छैनन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी नेतृत्वको टोलीले बालकृष्णलाई चाबहिलस्थित मैजुबहालमा रहेको निवासबाट पक्राउ गर्दा मञ्जु त्यहाँ थिइनन्।

बरु प्रहरीले पक्राउ गर्नुअघि बालकृष्ण फोनमा व्यस्त थिए। अर्थात् मंगलबार नै पक्राउ पर्ने संकेत पाइसकेका बालकृष्ण र मञ्जु मैजुबहालमा सँगै थिएनन्। मञ्जुले साढे ६ करोड र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले २ करोड बुझेको अडिओ आइसकेको छ। उक्त अडिओबारेमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। करिब २० मिनेटको भनिएको उक्त अडिओको वास्तविकतामाथि प्रहरीले छानबिन गरिरहेको छ।

काठमाडौं परिसरको हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न बुधबारै उनका परिवारका अन्य सदस्य टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगे। बालकृष्णका दाजुभाउजु बुधबार नै काठमाडौं परिसर पुगे। उनीहरुले बुधबार र बिहीबार दुवै दिन बालकृष्णका लागि खाना लिएर पुगेका थिए।

त्यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयरसमेत रहेका भाइ रामकृष्ण पनि बालकृष्णलाई भेट्न काठमाडौं आइसकेका छन्।

बालकृष्ण पक्राउ परेपछि दोस्रो दिन बिहीबार बिहान साढे सात बजेदखि नै परिसरमा भेटघाट चलिरहेको छ। उनका नजिक टाढाका नातागोता र इष्टमित्र भेट्न पुग्दा मञ्जुको खोजी भइरहेको छ। तर त्यो भिडमा मञ्जु कतै पनि देखिएकी छैनन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत