गृहमन्त्रीको निर्देशनपछि नक्कली भुटानी काण्डको अनुसन्धान गर्न अब्बल प्रहरी थपिए !
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट रकम असुलेर भएको ठगी गरेको प्रकरणको अनुसन्धान तीव्रताका साथ अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। अनुसन्धानको म्याद सकिन लाग्दा थप जनशक्ति परिचालन गरेर अनुसन्धान कार्यलाई तीव्रता दिइएको प्रहरीको भनाइ छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन पछि अनुसन्धानका अब्बल अधिकृतहरु थप गरिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीदेखि प्रहरी प्रधान कार्यालय र उपत्यका बाहिरका जिल्लाका अब्बल अनुसन्धान अधिकृतलाई समेत काठमाडौं परिसरमा खटाइएको छ।
प्रहरीले यो प्रकरणमा संगठित ठगीको कसुरमा अनुसन्धान गरिरहेको छ। प्रहरीले यो प्रकरणमा प्रारम्भिक अनुसन्धान सकेर संलग्नता देखिएकाहरुलाई गत चैत १२ गतेबाट पक्राउ गर्न थालेको थियो। संगठित अपराधको कसुरमा अनुसन्धान गर्न प्रहरीले ६० दिनको म्याद पाउँछ। जसअनुसार अब जेठ १२ गतेभित्र अदालतमा मुद्दा बुझाइसक्नुपर्ने हुन्छ।
सयम कम भएपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा थप जनशक्ति परिचालन गरेर अनुसन्धानको कामलाई तीव्रता दिएको छ।
