बुधबार, चैत्र २५, २०८२

एक सातामै सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था हुन्छ : मन्त्री ज्वाला


कान्तिपथ


भक्तपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै अब एक हप्ताभित्र प्राप्त गर्ने व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।

पूर्व अरनिको यातायात प्रालिले आजदेखि सञ्चालनमा ल्याएको निःशुल्क स्कुल बस सेवाको उद्घाटन गर्दै उहाँले सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने सम्पूर्ण झन्झटिलो व्यवस्थाको अन्त्य गर्न आफू लागिरहेको बताउनुभयो ।

सडक पूर्वाधारमा लगानी बढाएर रोजगारीका अवसर सिर्जना गरी राष्ट्रलाई समृद्धितर्फ लैजान आफू लागिरहेको बताउँदै मन्त्री ज्वालाले अर्थतन्त्रमा आएको सङ्कटका कारण पूर्वाधारका क्षेत्रमा लगानी बढाउन नसक्ने अवस्था आए पनि जनतासँग प्रत्यक्ष जोडिने सडक भएकाले सडक क्षेत्रमा लगानी बढाउने प्रयास सरकारले गरिरहेको बताउनुभयो ।

उहाँले सार्वजनिक सवारी सुरक्षित, भरपर्दो र थप सेवामुखी बनाउन प्रतिबद्धताका साथ काम गरिरहेको भन्दै यातायात क्षेत्रमा रहेका अव्यवस्था र जटिलतालाई सुधार्न मन्त्रालयले थालनी गरेको बताउनुभयो । सडक पूर्वाधार राम्रो नहुँदासम्म यात्रुले सुविधा पाउन नसक्ने भन्दै उहाँले सडकलाई राम्रो बनाउने र दुर्गम ठाउँसम्म सुरक्षित सवारी सेवा पुर्‍याउन सडक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

ट्राफिक व्यवस्थापनमा कडाइ गर्नुपर्ने तर यसका नाममा सवारी चालकले अनावश्यक दुःख पाउने अवस्था सिर्जना हुनु हुँदैन भन्दै उहाँले ट्राफिक प्रहरीले सहजीकरण र कडाइ दुवै गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार खत्री क्षेत्रीले विगत ५० वर्षदेखि कोटेश्वर पूर्वका जिल्लामा सार्वजनिक यातायातको सेवा दिँदै आएको प्रालिले श्रमिकका छोराछोरीका लागि निःशुल्क पठनपाठनको व्यवस्था गर्दै आएको र आजदेखि तिनै मजदुरका छोराछोरीका लागि निःशुल्क चार वटा स्कुल बस सञ्चालनमा ल्याइएको बताउनुभयो ।

चालक, सहचालकका छोराछोरीलाई निःशुल्क पठनपाठनको व्यवस्था गर्दै आएकामा आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको बताउँदै उहाँले मजदुरका छोराछोरी पनि डाक्टर, इञ्जीनियर बनाउन लागिरहेको बताउनुभयो ।

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, काठमाडौँ उपत्यका ट्राफिक महाशाखाका प्रमुख पोषराज पोखरेल लगायतले यातायात व्यवस्थाभित्र रहेका समस्यालाई समाधान गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

त्यस अवसरमा दुर्घटनामा निधन भएका अरनिको यातायात प्रालिका बस चालक कृष्णराम कोजूकी पत्नी लक्ष्मी कोजूलाई प्रालिको तर्फबाट रु १० लाख सहयोग रकम हस्तान्तरण गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत