दोलखाको बैतेश्वर गाउँपालिका वडा नं ७ ले जनताले बनाएको सालको पातले बनेको टपरी किन्ने भएको छ । आज एक सुचना जारी गर्दै वडा अध्यक्ष मिनकुमार शिवाकोटीले वडाबासीहरुको सिप र मार्बुको कच्चा पदार्थको सदुपयोग र प्रोत्साहन हुने गरी वडा कार्यालयले सालको पातको टपरी खरिद गर्ने निर्णय गरेको जानकारी दिए ।
शिवाकोटीका अनुसार जनताबाट १५ रुपैयाँमा किनिने टपरीको बजार वडाले खोज्ने छ । टपरी पाँच कुने बिट मारेको हुनुपर्ने उनले बताए ।
मार्बु क्षेत्रमा जङ्गल पर्याप्त छ । सालका पात पाउन खासै समस्या छैन । जङ्गलमा खेर जाने सालको पात सदुपयोग गरेर आम्दानी गर्दा स्थानीय स्तरमा सकारात्मक संद्देश जाने उनले बताए । चाडपर्व, पूजा, विवाह तथा मृत्यु संस्कारमा पनि हरियो दुना–टपरीको माग हुने गरेको छ ।
नेकपा (माओवादी केन्द्र) बाट वडा अध्यक्षमा निर्वाचित शिवाकोटी हाल पार्टीको पालिका संयोजक हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ