शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • मेलम्चीको पानी स्थायी रुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने

मेलम्चीको पानी स्थायी रुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने


कान्तिपथ


काठमाडौँ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाबाट स्थायी रूपमा पानी राजधानी ल्याउन नसकिएको खानेपानी मन्त्रालयलगायत सरोकार भएका निकायसँग छलफल गर्ने भएको छ ।

सभाका अध्यक्षसहितको समूहले यही जेठ १ गते आयोजनाको मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथान क्षेत्रको अध्ययन गरेपछि तयार पारेको प्रारम्भिक प्रतिवेदनमा छलफल गर्न आज आयोजित बैठकमा सभापति दिलकुमारी थापा रावल पार्वतीले यस्तो जानकारी दिनुभएको हो । 

आयोजनाबारे  विस्तृत छलफल आवश्यक भएकाले यही महिनामा मन्त्रालयलगायत सरोकार भएका निकायलाई राखेर छलफल गरी आयोजनाबाट स्थायी रूपमा राजधानीमा पानी ल्याउन गर्नुपर्ने कामका बारेमा निर्देशन दिइने उहाँले बताउनुभयो । 

बैठकमा सांसद शेखरकुमार सिंहले स्थलगत अध्ययनका क्रममा मेलम्चीको पानीमा गरिएको लगानी बालुवामा हालेको पानीजस्तो देखिएको सुनाउनुभयो । राजधानी वरपरबाट पनि पानी ल्याउने स्रोत खोजी गरिनुपर्ने उहाँको भनाइ थियो । 

सांसद इन्दिरा गौतमले मेलम्ची नदीको मुहानको भूबनोटका विषयमा पनि विज्ञहरुसँग छलफल गर्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो । दीर्घकालीन रुपमा मेलम्चीको पानी राजधानीवासीलाई खुवाउन सकिन्छ कि सकिन्न भनी विज्ञको सुझाव लिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

सांसद दीपा गुरुङले समितिबाट २०७६ सालमा गरिएको अनुगमनमा भन्दा २०७८ असार १ गतेको बाढीपछि यसपटक गरिएको अनुगमनमा धेरै क्षति भएको पाइएको बताउनुभयो । 

सांसद रामचन्द्र राईले ठूला उपकरण लगाएर सफा गरे मेलम्चीको मुहानस्थल जाने पहुँच मार्ग बनाउन कठिन नहुने बताउनुभयो । प्राथमिकतामा नपरेको र इच्छाशक्ति पनि नभएकाले आयोजनामा बाढीले बिगारेको संरचना निर्माण गर्न ढिलाइ भएको उहाँको भनाइ थियो । सांसद गोपी आछामीले पहुँचमार्गका पुल बाढीले बगाएकाले वर्षामा मुहान क्षेत्रमा बाढी पन्छाउन जान नसकिने अवस्था रहेको बताउनुभयो । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत