शुक्रबार, चैत्र २७, २०८२

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या


कान्तिपथ


ढोरपाटन। पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ । बजारमा जनघनत्व बढ्दो छ । गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । वर्षौँ अगाडि निर्माण भएका पूर्वाधारले अहिले थेग्न सक्ने अवस्था छैन । बजारको फोहर व्यवस्थितरूपमा व्यवस्थापन हुनसकेको छैन । 

ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङ बजारको फोहर अहिले वडा नं ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ । ढोरपाटनले छ वर्षदेखि बाघखोरमा फोहर व्यवस्थापन गर्दै आएको छ । त्यसअघि भूजीखोलामा फोहर व्यवस्थापन गर्ने गरिएको थियो । अहिले बाघखोरमा व्यवस्थापन गरिएको फोहर खोलामा बग्ने गरेको छ । अव्यवस्थितरूपमा व्यवस्थापन गरेको फोहर हावाले उडाएर र पानी पर्दा बगाएर खोलामै पुग्छ । 

फोहरले तमानखोला र भूजीखोला दूषित बनेका छन् । यी दुवै खोला बडिगाडखोलामा मिसिन्छन् । फोहरबाट जलचर प्राणीलाईसमेत असर पुगेको छ । अहिले फोहर व्यवस्थापन गर्दैगरेको ठाउँ नगरपालिकाको वडा नं ३ र ४ को विभिन्न गाउँ तथा तमानखोला पुग्ने सडक छेउमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइट’का कारण यात्रुलाई समस्या भएको छ ।

बुर्तिबाङ–बोङ्गादोभान सडकमा दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्छन् । पैदलयात्रुलाई फोहरको दुर्गन्धले समस्या भएको छ । बुर्तिबाङबजारको फोहर नगरपालिकाले दैनिक यही ल्याएर फ्याँक्छ । कुहिने तथा नकुहिने सबै फोहर एकै ठाउँ फाल्ने गरिएको छ । साँघुरो ठाउँ हुँदा फोहर व्यवस्थापन गर्न समस्या भएको ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले बताउनुभयो । फोहर व्यवस्थापनका लागि जग्गा खोज्ने अवस्था रहेको उहाँको भनाइ छ ।

“बुर्तिबाङ बजार निकै साँघुरो र वरपर पर्याप्त जग्गा नहुँदा पुरानै ठाउँमा फोहर व्यवस्थापनको विकल्प छैन, जग्गा खोजी गरिरहेका छौँ, हालसम्म पाएका छैनौँ”, उहाँले भन्नुभयो । 

सडक छेउमा थुप्रिएको गन्धले यात्रा गर्न समस्या भएको तमानखोलाका वीरबहादुर सिर्पालीले बताउनुभयो । वरपरको क्षेत्र दुगन्धित बनिरहेको उहाँको भनाइ छ । सिर्पाली भन्नुहुन्छ, “फोहर तमानखोलाको किनारमा थुपारिएको छ, ठूलो पानी पर्यो भने सबै फोहर खोलामा जान्छ, हावाहुरीले उडाएर वातावरण नै दूषित बनाएको छ ।”



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत