संसदमा पशुपतिनाथमा जलहरी चढाउँदा भ्रष्टाचार भएको विषय उठेपछि सामाजिक सञ्जालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एक ट्रोल तस्वीर भाइरल भयो । जसमा ओली सुनैसुनले ढाएिका थिए ।
यसरी सामाजिक सञ्जालमा ट्रोल बनेपछि ओलीले बुधबार त्यसबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । कलाकारहरूलाई एमालेमा प्रवेश गराउन बुधबार काठमाडौंमा एमालेले आयोजना गरेको कार्यक्रममा ओलीले आफ्नो ट्रोल तस्वीरबारे प्रतिक्रिया दिए । उनले भने, ‘अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट पनि यत्रो मेहनत गरेर । एउटा चिजलाई अर्को ठाउँमा लगेर । कस्तो नियत, कस्तो घटिया कुरा होला ?’
उनले आफूलाई जीवनभर सुनप्रति रुची नभएको बताएका छन् । उनले जीवनमा एकपटक आमाको सुनको औँठी लगाएको र त्यसबाहेक औँठी पनि नलगाएको बताएका छन् । उनले अहिले नेपालमा छाडापन बढेर गएको बताए । उनले भने, ‘आज दुनियाँमा सबैभन्दा छाडापन यही देशमा देखिन्छ । यति छाडापन कहीँ नहोला । पहिले छाडापन भनेर विभिन्न देशको कुरा गर्थौं । अहिले नेपालमा जस्तो अन्त छैन । युट्युब खोल्न सकिँदैन । खोल्न पर्यो भने एकान्त कुनामा जानुपर्छ । के आउने हो भनेर डराउनुपर्छ । विकृतितर्फ भासिँदै गएका छौं हामी ।’
कलाकारहरुलाई एमाले प्रवेश गराउने कार्यक्रममा ओलीको भनाइ यस्ता थिएः
‘आज दुनियाँमा सबैभन्दा छाडापन यही देशमा देखिन्छ । यति छाडापन कहीं नहोला । पहिले छाडापन भनेर विभिन्न देशको कुरा गर्थाैं । अहिले नेपालमा जस्तो अन्त छैन । युट्युब खोल्न सकिँदैन । खोल्न पर्याे भने एकान्त कुनामा जानुपर्छ । के आउने हो भनेर डराउनुपर्छ । विकृतितर्फ भासिँदै गएका छौं हामी ।
यो देश जहाँ सभ्यता-संस्कृतिको सुरुवात भएको थियो, त्यो धर्तीमा आज के बोल्ने, के गर्ने बारबन्देजै छैन । शत प्रतिशत असत्य हो भन्ने जान्दाजान्दै हाकाहाकी झूट बोल्ने । जस्तो, केपी ओलीको फोटोमा हातभरि सुनै सुनका, यता पनि सुनै सुनका । त्यति सुन म बोक्न पनि सक्दिनँ होला ।
मेरो शरीरमा जिन्दगीमा औंठी लगाएको छैन । आमाले लगाउने गरेको औंठी सानो हुँदा नै ३-४ दिन लगाएको थिएँ । आमाले कान्छी औंलामा लगाएको औंठी आमा बितेपछि मैले बीचको औंलातिर लगाएँ । त्यस औंठीले मलाई बडो डिस्टर्व गर्याे । आमा सम्झिन कम भएको थियो, औंठीले गर्दा पटकपटक सम्झिने भएँ । हडबडी भइराख्ने आमाको सम्झानाले । त्यो भएपछि ३-४ दिन लगाएर फुकालें ।
फेरि एक दिन एउटा साथीलाई के झोंक चलेछ, मलाई सुनको औंठी लगाउन दियो । त्यसको निहुँ के थियो मलाई याद छैन । बडो माया गरेर दियो । तपाईं पैसा बोक्नु हुँदैन, खर्च हुँदैन । कहिलेकाहीं आपतमा काम लाग्नसक्छ, यो एउटा लाइराख्नुस् भनेको थियो । मैले सुनमा रुचि छैन भनें । तर, लाइराख्नुस् भन्यो । त्यस दिनभरि लाएँ । बेलुका घरमा फुकालेर राखें । त्यसपछि कसले लग्यो याद भएन ।
त्यसदेखि यता मैले औंठी लगाएको छैन । मेरो रुचि औंठीसौंठीमा छैन । सानो छँदा कान छेडेर मुन्द्रा लगाइदिएका थिए । अलि ठूलो भएपछि खोलियो । केटीको भए खोलिन्नथ्यो होला । त्यसपछि त्यो पनि रहेन ।
अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट पनि यत्रो मेहनत गरेर । एउटा चिजलाई अर्को ठाउँमा लगेर । कस्तो नियत, कस्तो घटिया कुरा होला ?
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ